दशैंसंगै पर्यटनमा छायो खुसि, पर्यटन व्यवसायीमा आशा

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ९ कात्तिक,

वडा दशैंसंंगै पर्यटनमा खुसियाली छाएको छ । यस वर्षको वडा दशैंको अवसरमा गत बर्षको तुलनामा पोखरा क्षेत्रमा कम पर्यटक आगमन भए पनि पर्यटन व्यवसायमा थप आशा पलाएको हो । यस वर्षको वर्षा, बाढीपहिरो र सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजारमा दसैंसँगै चहलपहल बढेसंगै हाल व्यवसायहिरुमा आशा पलाएको हो ।

अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन कम रहे पनि दसैंको टीकापछि होटलमा पाहुनाको उपस्थिति बढ्न थालेसँगै पर्यटन व्यवसायीमा आशा पलाएको हो । विगतका वर्षमा दसैं आसपासदेखि नै गति लिने पर्यटन सिजन यसपटक भने प्रतिकूल मौसम र सडक सञ्जालमा देखिएका समस्याका कारण ढिलो गरी सुरु भएको व्यवसायीको भनाइ छ । मुक्तिनाथ जाने सडक खुल्दै जानु, मौसममा क्रमिक सुधार आउनु र दसैं बिदामा घुमफिर गर्नेको संख्या बढ्नुले पोखरासहित आसपासका पर्यटकीय गन्तव्यमा पुनः चहलपहल बढाएको छ ।

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार दसैंका बेला पोखराका होटलमा अकुपेन्सी ७५ प्रतिशतसम्म पुगेको थियो । यद्यपि, सोमबारसम्म आइपुग्दा होटल अकुपेन्सी करिब ५० प्रतिशतमा झरेको उहाँको भनाई छ । यस वर्ष दसैंको अवसरमा पोखरा घुम्न आउने पर्यटकको संख्या गत वर्षको तुलनामा करिब २५ प्रतिशत कम रहेको उहाँकोे आकलन छ ।

मुक्तिनाथ जाने सडक खुलेसँगै कात्तिकको पहिलो सातादेखि पोखरामा पर्यटकको आवागमन बढ्न थालेको सुवेदीले बताउनु भयो । अपेक्षा गरेअनुसार पर्यटक नआए पनि पछिल्लो समय देखिएको सुधारले आगामी दिनमा पर्यटन बजार चलायमान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखराका होटल व्यवसायी शिव देवकोटाले पनि दसैंको टीकादेखि कोजाग्रत पूर्णिमासम्म पर्यटकको चहलपहल उत्साहजनक देखिएको बताउनु भयो । संयोग टुरिस्ट रिसोर्टका सञ्चालक समेत रहनु भएका देवकोटाले यस वर्ष पोखरामा पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा करिब ५० प्रतिशत कम रहेको अनुमान गर्नुभयो । दसैंपछि घुमघाममा निस्कने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेकाले आगामी दिनमा व्यवसायले गति लिने अपेक्षा गरिएको देवकोटाको भनाईछ ।

पोखरामा मात्र नभई कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गतका पर्यटकीय गन्तव्यमा पनि पर्यटकको आगमन बढ्न थालेको छ । घोरेपानीका होटल व्यवसायी तथा गाउँपालिकाका पूर्वअध्यक्ष क्याप्टेन दमबहादुर पुनका अनुसार यस वर्ष पर्यटन सिजन ढिलो गरी सुरु भएको छ । दसैंका बेला पर्यटकको चहलपहल बढे पनि गत वर्षको तुलनामा संख्या कम छ ।

पुनका अनुसार कात्तिक लागेसँगै पुनहिल पुग्ने पर्यटकको संख्या दैनिक दुई सयदेखि दुई सय ५० जनासम्म पुगेको छ । अघिल्ला वर्षमा यही समयमा दैनिक तीन सयदेखि पाँच सय जनासम्म पुनहिल पुग्ने गरेका थिए । असोजमा परेको अत्यधिक वर्षा तथा वीरेठाँटीदेखि घान्द्रुकसम्मका सडकखण्डलगायत विभिन्न स्थानमा भएको अवरोधले पर्यटकको आवागमन घटाएको उहाँले बताउनु भयो ।

दसैंमी होटलका सञ्चालक समेत रहनु भएका पुनले वर्षा र बाढीपहिरोका कारण सडक सञ्जालमा पुगेको क्षति तथा प्रतिकूल मौसमले हिमाली दृश्यावलोकनमा समेत असर पारेको उल्लेख गर्नुभयो । कात्तिकदेखि मौसममा सुधार आउन थालेकाले घोरेपानी हुँदै पुनहिल पुग्ने पर्यटकको संख्या क्रमशः बढ्नेमा आफू आशावादी रहेको उहाँले बताउनु भयो । “यस वर्ष पर्यटन सिजन नै ढिलो गरी सुरु भएको छ । कात्तिकबाट बल्ल पर्यटकको चहलपहल बढ्न थालेको छ। अब मौसमले साथ दिएमा घोरेपानी हुँदै पुनहिल आउने पर्यटकको संख्या बढ्ने अपेक्षा गरेका छौँ,” पुनले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पनि यस वर्ष पोखरामा पर्यटक आगमन अपेक्षाभन्दा ढिलो गरी बढ्न थालेको बताउनु भयो । उहाँका अनुसार दसैंको टीकापछि आन्तरिक, पारिवारिक, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आगमनमा सुधार देखिएको छ ।

मनाङ, मुस्ताङ तथा कालीगण्डकी क्षेत्रका विभिन्न स्थानमा आएको बाढी र मुस्ताङ जाने सडक अवरुद्ध हुँदा असोजमा पर्यटक आगमन प्रभावित भएको भुजेलले बताए । कात्तिकको सुरुवातसँगै पर्यटकको चहलपहल बढ्न थालेकाले अब पर्यटन बजारले क्रमशः गति लिने भुजेलको विश्वास छ । “यस वर्ष पर्यटकको सिजन केही ढिलो गरी सुरु भएको छ। दसैंपछि पर्यटक आगमन बढ्न थालेको छ, जसले पर्यटन व्यवसायीमा आशा जगाएको छ। अब पर्यटकको आगमन निरन्तर बढ्ने विश्वास गरेका छौँ,” भुजेलले भन्नुभयो ।

यसैबीच, दसैंपछि पदयात्रामा जाने पर्यटकको संख्या पनि बढ्न थालेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जनाएको छ । पोखरालाई आधार बनाएर अन्नपूर्ण क्षेत्रलगायतका पदमार्गमा जाने पर्यटकको आवागमन बढ्न थालेसँगै पदयात्रा पर्यटनमा समेत सुधारको संकेत देखिएको छ ।