मापसेपछि साथीहरूबीच विवाद, आफ्नै साथीको कुटपिटबाट युवकको मृत्यु; पाँच जना पक्राउ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     कार्तिक ११ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ११, कार्तिक,

सामान्य विवादले उग्र रूप लिएपछि कास्कीको माछापुच्छ्रे गाउँपालिकामा एक युवकले ज्यान गुमाएका छन् । सँगै बसेर मदिरा सेवन गरेका साथीहरूबीच मौरीको घार फुटाएको विषयमा सुरु भएको विवादले हिंसात्मक रूप लिँदा २२ वर्षीय राजेन्द्र पौडेलको मृत्यु भएको प्रारम्भिक प्रहरी अनुसन्धानले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसस्थित आफ्नै घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको बारीमा पौडेल कात्तिक ९ गते बिहान करिब ८ः२० बजे मृत अवस्थामा फेला पर्नु भएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले बताउनु भयो । स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी चौकी धम्पुसबाट खटिएको टोली घटनास्थल पुगेको थियो । उनको शरीरभरि निलडाम तथा चोटपटक रहेको र नग्न अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको दुई दिन पछि बुधबार पत्रकार भेटघाट कार्यक्रम मार्फत घटनाको विवरण सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानमा पौडेलको कुटपिटबाट मृत्यु भएको जनाएको हो । घटनाको अनुसन्धान गर्दै जाँदा अघिल्लो साँझ मृतक पौडेल र उहाँका केही साथीहरू सँगै बसेर मदिरा सेवन गरेको खुलेको एसपी कार्कीले जनाउनु भयो । विवाद बढ्दै जाँदा पौडेलले आफूसँग रहेको हँसियाले मिलन विकको घाँटीमा र आशिष गुरुङको तिघ्रामा प्रहार गरी चोट पु¥याउनु भएको प्रहरीले जनाएको छ । त्यसपछि उहाँहरू आ–आफ्नो घर फर्किनु भएको थियो । तर, सामान्य विवादमा रोकिएको घटना त्यतिमै टुंगिएन । प्रहरीका अनुसार राति करिब ११ः५९ बजे आशिष गुरुङले विक्रम पुन र ललितबहादुर पुनलाई फोन गरी बोलाउनु भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । त्यसपछि मिलन विक र महादेव विकसहित पाँच जना एकजुट भएर पौडेलको घर पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले पौडेलमाथि बाँसका भाटा, दाउरा तथा लात्तीमुक्का प्रहार गर्नु भएको थियो । गम्भीर अवस्थामा पुग्नु भएको पौडेललाई घरबाट नजिकै रहेको बारीमा लगेर छाडिएको र पछि उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले माछापुच्छ्रे गाउँपालिका–७ का ३० वर्षीय विक्रम पुन, २३ वर्षीय आशिष गुरुङ, ३० वर्षीय महादेव विक, ३० वर्षीय मिलन विक र ३८ वर्षीय ललितबहादुर पुनलाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट बाँसका दुईवटा भाटा, एउटा दाउरा, एउटा हँसिया, बियरका बोतलका टुक्रा र एउटा पानीको बोतल समेत बरामद गरिएको छ ।

एसपी कार्कीले अनुसन्धानबाट खुलेका तथ्यका आधारमा घटनामा संलग्न व्यक्तिहरूमाथि कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । मृतक पौडेलका घरका अन्य सदस्य घटनाका बेला घरबाहिर रहेको र घटनास्थल आसपास पनि अन्य घरहरू टाढा रहेकाले घटनाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न कठिनाइ भएको प्रारम्भिक विवरणमा उल्लेख छ । घटनाका बेला मृतककी आमासमेत मदिरा सेवन गरेको अवस्थामा रहेको जानकारीका आधारमा प्रहरीले थप अनुसन्धानबाट घटनासम्बन्धी अन्य तथ्य खुल्न सक्ने अपेक्षा गरेको छ । घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले बताउनु भयो ।



This will close in 20 seconds