समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार माथि धरपकड, प्रेस काउन्सिलको गम्भीर आपत्ति

-


     पोखरा क्लिक     
     कार्तिक १३ गते २०८३ मा प्रकाशित


काठमाडौं,

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरेपछि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। शुक्रबार सरकारी कार्यालय समय सकिएपछि प्रहरीले नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई नियन्त्रणमा लिएको छ।

त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी उनको कार्यालयमै पुगेका छन्। घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रेस काउन्सिल नेपालले पक्राउको स्पष्ट कारण, पक्राउ पूर्जी तथा कानुनी आधार सार्वजनिक नभएको अवस्थामा पत्रकारमाथि गरिएको धरपकड आपत्तिजनक रहेको जनाएको छ। काउन्सिलले समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने जिम्मेवारी काउन्सिलकै भएको स्पष्ट पार्दै समाचारकै विषयमा प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रियाबाट समाधान खोज्न सरकार तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ।

नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्नसमेत काउन्सिलले माग गरेको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरी दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। उनले यस्तो कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको समेत विपरीत हुने उल्लेख गरेका छन्।

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले पनि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी पक्राउ परेको घटनाको निन्दा गरेका छन्। समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक शासन व्यवस्थामा कल्पनासमेत गर्न नसकिने विषय भएको उनको टिप्पणी छ। लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारमाथि गरिएको यस्तो धरपकडले प्रेस स्वतन्त्रता, विधिको शासन र पत्रकारको व्यावसायिक सुरक्षाबारे गम्भीर बहस सिर्जना गरेको छ।

यसैबिच, नेपाल पत्रकार महासघले आज ८ः३० बजे आपतकालिन केन्द्रीय समितिको बैठक बोलाएको छ । विकसित घटनाको बारेमा महासघले गम्भीर समिक्षा गरेर संबिधान र प्रेस स्वतन्त्रताको रक्षाको लागि संघर्षको कार्यक्रम तय गर्ने भएको महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले बताए ।



This will close in 20 seconds