
पोखरा,
पोखरा महानगरपालिका–११ स्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, पोखरामा सोही कार्यालयको समन्वय तथा सहकार्यमा कास्कीका एम्बुलेन्स चालकहरूलाई ट्राफिक सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको छ। प्रशिक्षण कार्यक्रममा यस कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक यामनाथ पनेरूले आपतकालीन सवारी साधन सञ्चालनसम्बन्धी नियम, लेन अनुशासन, तीव्र गति, ओभरटेक, भीडभाड तथा संवेदनशील स्थानमा अपनाउनुपर्ने सावधानी, प्रतिकूल मौसममा सुरक्षित सवारी सञ्चालन र वैकल्पिक मार्गको प्रयोगलगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो।
साथै, अनावश्यक साइरन प्रयोग, निजी प्रयोजनका लागि एम्बुलेन्सको प्रयोग तथा लापरवाहीपूर्ण ड्राइभिङजस्ता गलत अभ्यास नगर्न र एम्बुलेन्स सेवा निर्देशिका, २०८२ बमोजिम चालकले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा समेत जानकारी गराइएको थियो। कार्यक्रमको मुख्य उद्देश्य एम्बुलेन्स सेवालाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउँदै आपतकालीन अवस्थामा बिरामी तथा सेवाग्राहीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन चालकहरूलाई जिम्मेवार र सचेत बनाउनु रहेको छ।





