प्रथम किङ्स कप राष्ट्रिय भलिबल प्रतियोगिता मंसिर ९ गतेदेखि हुने

-


     पोखरा क्लिक     
     कार्तिक १४ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १४, कार्तिक,

पोखराको युनाइटेड किङ्स क्लबको आयोजनामा सञ्चालन हुने प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ को मिति सरेको छ । यसअघि आगामी मङ्सिर १ गतेदेखि ६ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आयोजना गर्ने तय भएको प्रतियोगिता अब मङ्सिर ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको क्लबका सचिव अशोक थापाले पोखराक्लिकलाई जानकारी दिनुभयो ।

भारतमा नोभेम्बर १५ देखि २२ (कार्तिक २९ देखि मंसिर ६ गते ) सम्म आयोजना हुने काभा पुरुष भलिबल लिगमा नेपाली राष्ट्रिय भलिबल टोलीसमेत सहभागी हुने भएकाले प्रतियोगिताको मिति सारिएको उहाँले जनाउनु भयो । राष्ट्रिय खेलाडीहरूको सहभागिता, प्रतियोगिताको गरिमा र नेपाली भलिबलको समग्र हितलाई ध्यानमा राख्दै मिति परिवर्तन गर्ने निर्णय गरिएको सचिव थापाले उल्लेख गर्नुभयो । प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित आयोजक क्षेत्रको गण्डकी प्रदेश भलिबल टोली तथा अन्य दुई टोली गरी कुल ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले २ लाख ५० हजार, तृतीय हुने टोलीले १ लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकले विभिन्न प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, सहयोगी संस्था तथा सञ्चारमाध्यमलगायतका स्रोतबाट ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

भलिबल खेलको विकास, विस्तार र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक थमन गुरुङले बताउनुभयो । राष्ट्रियस्तरका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा गराउँदा स्थानीय तथा युवा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रियस्तरका खेलाडीसँग अनुभव साट्ने अवसर प्राप्त गर्ने उहाँको भनाइ छ । यस वर्ष पुरुषतर्फ मात्र प्रतियोगिता आयोजना गरिए पनि आगामी संस्करणदेखि महिला खेलाडीलाई समेत समेटेर प्रतियोगिता सञ्चालन गर्ने आयोजकको तयारी छ ।



This will close in 20 seconds