गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना ‘हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व’

-


     पोखरा क्लिक     
     भाद्र २९ गते २०८३ मा प्रकाशित


पोखरा, २९ भदौ,

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका ९तीज० महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनुभएको छ ।

तीजका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकआपसमा खुसी साटासाट र मनोरञ्जनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गर्नुभएको छ ।

‘तीज पर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दछु ।’ उहाँले भन्नुभएको छ । शुभकामना सन्देशमा उल्लेख छः ‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु । नेपाली मौलिक संस्कृति सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गर्दछु ।’