
पोखरा,
संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन र खेलकुदका माध्यमबाट स्वस्थ समाज निर्माण गर्ने उद्देश्य सहित पोखरा–१७ स्थित ड्यामसाइड क्लबले दशौँ ड्यामसाइड दीपावली सांगीतिक साँझ–२०८३ आयोजना गर्ने भएको छ। काग तिहारको अवसर पारेर भोलि (शनिबार) कार्तिक २१ गते ड्यामसाइड चोक, पार्दी मार्ग (सडक नं. डी–१३) मा कार्यक्रम आयोजना गर्न लागिएको क्लबले पोखराक्लिकलाई जनाएको छ।
कार्यक्रम साँझ ५ बजेदेखि राति ९ः३० बजेसम्म सञ्चालन हुने भएको हो । ‘संस्कृतिको जर्गेना गरौँ, पर्यटन प्रवर्द्धनमा टेवा पुर्याऔँ’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा लाइभ म्युजिक, नृत्य, हास्य प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन्। कार्यक्रममा स्थानीय कलाकार सौगात गुरुङ, यामबहादुर नेपाली लगायतका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने क्लबका अध्यक्ष रमेशप्रसाद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवर्द्धन गर्नुका साथै तिहारको सांस्कृतिक रौनकलाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहेका शुभेच्छुक, विभिन्न संघसंस्था र सहयोगीहरूसँग समन्वय तथा सहकार्य भइरहेको क्लबका पूर्वअध्यक्ष पदम ढकालले बताउनुभयो। क्लबले दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै पोखरावासी, पर्यटन व्यवसायी, सामाजिक संघसंस्था, स्थानीयवासी तथा सम्पूर्ण सर्वसाधारणलाई परिवारसहित कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ। सांगीतिक मनोरञ्जनसँगै स्थानीय संस्कृति र पर्यटनलाई जोड्ने उद्देश्यले आयोजना हुँदै आएको यस कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धन तथा सामाजिक एकतामा समेत योगदान पुर्याउने आफुहरुले अपेक्षा गरेको महासचिव राकेश श्रेष्ठले बताउनु भयो ।






