धार्मिक यात्राबाट बचत ६० हजार र व्यक्तिगत १० हजारसहित योगेश गुरुङको टिमबाट सहारा क्लबलाई ७० हजार सहयोग

-


     पोखरा क्लिक     
     कार्तिक २० गते २०८३ मा प्रकाशित


पोखरा,

सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले यूके निवासी योगेश गुरुङ नेतृत्वले सहारा क्लबलाई ७० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ। गुरुङले धार्मिक यात्राबाट बचत भएको ६० हजार रुपैयाँ सहारा क्लबलाई सहयोग गर्नुभएको हो।

त्यसैगरी, क्लबले आयोजना गर्न लागेको देउसी–भैलो कार्यक्रमका लागि उहाँले आफ्नो व्यक्तिगत तर्फबाट थप १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। सहारा एकेडेमीमा हालै एक समारोहका बिच ७० हजार रुपैयाँ क्लबलाई हस्तान्तरण गरिएको हो। यूकेको डाइमण्ड बुद्धिष्ट सेन्टरका संस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष, भूम्दिकोट यूकेका अध्यक्ष, तमुधिँ यूकेका सल्लाहकार एवं सहारा यूकेका पूर्वसल्लाहकार गुरुङले सामाजिक तथा मानवीय सेवाप्रतिको जिम्मेवारीबोध गर्दै सहयोग गर्नुभएको क्लबले जनाएको छ।

सहारा क्लबले आफ्नो स्थापनाकालदेखि नै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सहारा आवासीय फुटबल एकेडेमीलाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि क्लबले देउसी–भैलो कार्यक्रम आयोजना गर्ने तयारी गरेको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार क्लबका सदस्य तथा विभिन्न कलाकारहरूको सहभागितामा कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रमबाट संकलित रकम सहारा आवासीय फुटबल एकेडेमीको सहयोगमा खर्च गरिनेछ।

सहारा क्लबले सञ्चालन गर्दै आएको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा आश्रित बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण तथा फुटबल प्रशिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले देउसी–भैलो कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ। नेपाली कला र संस्कृतिको जगेर्नासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अभियानमा गुरुङबाट प्राप्त सहयोगले क्लबको देउसी–भैलो कार्यक्रम तथा आवासीय एकेडेमी सञ्चालनमा थप टेवा पुग्ने क्लबले विश्वास लिएको छ।



This will close in 20 seconds