लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

-


     पोखरा क्लिक     
     कार्तिक १७ गते २०८३ मा प्रकाशित


पोखरा,

लेखनाथलाई पोखराको वैकल्पिक पर्यटकीय गन्तव्यका रूपमा मात्र नभई छुट्टै पहिचान र सम्भावना बोकेको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाले जोड दिएका छन् । होटेल एण्ड रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजनामा बेगनास ताल किनारमा जारी छैटौँ बेगनास फिस फेस्टिभलको अवसरमा आयोजित ‘ताल पर्यटन र लेखनाथको पर्यटकीय गन्तव्य, स्थानीय रोजगारी, आर्थिक समृद्धि र दिगो विकास’ विषयक संवाद कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटनको गुणात्मक विकास, पूर्वाधार विस्तार, ताल संरक्षण र स्थानीय समुदायको आर्थिक सहभागितालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्् ।

कार्यक्रममा पर्यटन विज्ञ रामजी शर्माले पर्यटनलाई सामान्य व्यवसायका रूपमा मात्र बुझ्न नहुने बताए । यातायात, कृषि, होटल, रेस्टुरेन्ट, स्थानीय उत्पादन, संस्कृति र सेवामूलक व्यवसायलाई एकसाथ चलायमान बनाउने भएकाले पर्यटनलाई उद्योगहरूको पनि उद्योगका रूपमा लिनुपर्ने उनको भनाइ थियो । उनले पोखरालाई पर्यटनको राजधानीका रूपमा विकास गर्ने अवधारणाले लेखनाथका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गरे ।

शर्माले पोखराको पर्यटनलाई फेवाताल र लेकसाइडमा मात्र सीमित नराखी बेगनास, रूपा, आसपासका गाउँ, ऐतिहासिक कोट, सांस्कृतिक सम्पदा तथा पदमार्गसँग जोड्नुपर्ने धारणा राखे । पर्यटकको संख्या बढाउनेभन्दा उनीहरूको बसाइ अवधि लम्ब्याउने र खर्च गर्ने अवसर सिर्जना गर्ने गुणस्तरीय पर्यटन आवश्यक रहेको उनको भनाइ थियोे । योग, ध्यान, प्राकृतिक उपचार तथा शान्त वातावरणमा आधारित वेलनेस पर्यटनका लागि लेखनाथ उपयुक्त गन्तव्य बन्न सक्ने उनले बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको प्रवद्र्धनसँगै संरक्षणलाई पनि बोर्डले प्राथमिकतामा राखेको जानकारी दिए । उनका अनुसार लेखनाथ र बेगनास क्षेत्रको पहिचान विस्तार गर्न राजमार्गमा पर्यटकीय सङ्केत बोर्ड राख्ने योजना अघि बढाइएको र त्यसका लागि बजेटसमेत विनियोजन भइसकेको उनले बताए ।

पोखरेलले बेगनास तथा आसपासका पर्यटकीय गतिविधिको भिडियो, डिजिटल सामग्री र आकर्षक कथावस्तु तयार गरी अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने तयारी भइरहेको जानकारी दिए । पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीका प्याकेजमा समावेश गराउन प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ थियो ।

उनले बेगनासलाई फेवातालको विकल्पका रूपमा नभई आफ्नै विशिष्ट पहिचान भएको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। पर्यटकको बसाइ अवधि बढाउन जलपर्यटन, साहसिक गतिविधि, प्राकृतिक अवलोकन र स्थानीय अनुभवमा आधारित नयाँ कार्यक्रम आवश्यक रहेको उनले औँल्याए ।

पोखरा महानगरपालिका आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले पर्यटन विकासका लागि सडक, विमानस्थल, यातायात र अन्य पूर्वाधारको पहुँच अत्यन्त महत्वपूर्ण हुने बताए । मुग्लिन–पोखरा सडक सुधार तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण लेखनाथ क्षेत्रको पहुँच सहज बन्दै गएको उल्लेख गर्दै उनले निर्माणाधीन योजनाहरू समयमै सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बेगनास तालचोक क्षेत्रको सडक निर्माणमा भइरहेको ढिलाइ, सुविधासम्पन्न बसपार्कको अभाव तथा अन्य पूर्वाधारका समस्यालाई सम्बोधन गर्न स्थानीय तह र सरोकारवालाबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।

कडरियाले बेगनास, रूपालगायतका तालको प्राकृतिक स्वरूप जोगाएर पर्यटन विकास गर्नुपर्नेमा जोड दिदै पर्यटकको अत्यधिक भीडभन्दा शान्त वातावरण, प्राकृतिक सौन्दर्य, स्थानीय खाना, डुङ्गा सयर र चराचुरुङ्गी अवलोकनजस्ता अनुभवलाई महत्व दिने ‘स्लो टुरिजम’ लेखनाथका लागि प्रभावकारी बन्न सक्ने बताए ।

उनले पर्यटनबाट प्राप्त आम्दानी स्थानीय समुदायसम्म पुग्नुपर्ने उल्लेख गर्दै माछापालन, कृषि, पशुपालन, जडीबुटी, डुङ्गा व्यवसाय र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने बताए । ताल संरक्षणका लागि निर्धारित मापदण्ड कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले लेखनाथमा पर्यटनको सम्भावना प्रशस्त भए पनि आवश्यक सेवासुविधा र निजी लगानी पर्याप्त नभएको बताए । पर्यटकका लागि सवारीसाधन भाडा, मुद्रा सटही, ट्राभल एजेन्सी तथा अन्य सहायक सेवाको अभावले बेगनासमा आउने पर्यटकसमेत लेकसाइड जानुपर्ने अवस्था रहेको उनको भनाइ थियोे । लामिछानेले पर्यटन प्रवद्र्धनसँगै लगानीकर्तालाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । फिस फेस्टिभलजस्ता कार्यक्रमले बेगनासको पर्यटकीय पहिचान देशव्यापी बनाउन सहयोग पु¥याएको उल्लेख गर्दै उनले यस्ता गतिविधिको दीर्घकालीन सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।

संवादका क्रममा सहभागीहरू प्रध्यापक एम बहादुर रोका, राममणी अधिकारी, होटल ब्यवसायी विरभद्र कँडेल, स्थानीय समाजसेवी मधुकर न्यौपाने लगायतले पर्यटकीय क्षेत्रमा सार्वजनिक शौचालय, उद्धार टावर, व्यवस्थित बजार, ताल संरक्षण, सडक तथा पर्यटकीय पूर्वाधारका विषयसमेत उठाएका थिए । महानगरपालिकाका तर्फबाट आर्थिक बिकास महाशाखा प्रमुख मनहर कडरियाले ती मागलाई आगामी योजना तथा बजेटमा समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियोे

कार्यक्रममा वक्ताहरूले पर्यटन विकासको लाभ केही व्यवसायीमा मात्र सीमित नराखी आसपासका गाउँ, किसान, उत्पादक, युवा तथा स्थानीय समुदायसम्म पु¥याउनुपर्नेमा साझा धारणा राखे । प्राकृतिक सम्पदाको संरक्षण, सरकारी तथा निजी क्षेत्रको सहकार्य, प्रभावकारी प्रचारप्रसार र स्थानीय सहभागिताबाट लेखनाथलाई दिगो पर्यटन तथा आर्थिक समृद्धिको महत्वपूर्ण केन्द्र बनाउन सकिने उनीहरूको निष्कर्ष थियोे । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्दीप पौडेलले गरेका थिए ।



This will close in 20 seconds