
पोखरा,
युवा उद्यमशीलता, नेतृत्व विकास तथा व्यावसायिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित चेम्बर अफ कमर्स कास्कीको आयोजनामा कास्की जिल्ला युवा चेम्बर गठन गरिएको छ। नवगठित युवा चेम्बरको अध्यक्षमा दुर्गानाथ लामिछाने चयन हुनुभएको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पवन तिवारी, सचिवमा गोविन्द शर्मा पौडेल र कोषाध्यक्षमा माधव भण्डारी रहनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि यामनाथ पौडेलले युवाहरू देशको आर्थिक तथा व्यावसायिक विकासका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै युवाहरूमा उद्यमशील सोच, नेतृत्व क्षमता र नवीनतम व्यावसायिक अवधारणाको विकास हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। उहाँले युवा चेम्बरले युवाहरूलाई एकताबद्ध गर्दै व्यवसाय तथा उद्यमशीलताको क्षेत्रमा नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।
यस अवसरमा पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । युवा उद्यमशीलताको प्रवर्द्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा जिल्लाको आर्थिक विकासमा युवाहरूको सक्रिय सहभागिता बढाउन नवगठित युवा चेम्बरले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





