
पोखरा,
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा शान्ति सुरक्षा कायम गर्दै पर्यटकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले कास्की प्रहरीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अभियानलाई थप तीव्रता दिएको छ। अभियानअन्तर्गत प्रहरीले एकै रातमा ३१ जना व्यक्तिलाई नियन्त्रणमा लिनुका साथै ५८ वटा सवारीसाधनमाथि कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंसिर २१ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ लेकसाइड क्षेत्रमा सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा २९ जना पुरुष र २ जना महिलासहित ३१ जना नियन्त्रणमा परेका हुन्। प्रहरीका अनुसार पक्राउ परेकामध्ये यात्रुलाई दुःख तथा हैरानी दिने ३ जना, मोबाइल चोरी गरी फरार भएको एक जना, झण्डीबुर्जा खेलाउने एक जना, मादक पदार्थ सेवन गरी होहल्ला गर्दै सवारीसाधन चलाउने २५ जना र अनैतिक गतिविधिमा संलग्न एक जना रहेका छन्।
त्यसैगरी, सोही क्रममा गरिएको सवारीसाधन जाँचका क्रममा ५८ वटा सवारीसाधन नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये ३८ वटालाई मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाएको कसुरमा कारबाही गरिएको छ भने ९ वटालाई अन्य ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गरिएको छ। बाँकी ११ वटा सवारीसाधन वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कात्तिक १९ गतेदेखि लेकसाइड क्षेत्रमा ‘अपरेसन सभ्यता’ सञ्चालन गर्दै आएको छ। पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, दुर्व्यवहार गर्ने, झैझगडा गर्ने, होहल्ला गरी सार्वजनिक शान्ति भंग गर्ने तथा अनैतिक र अवाञ्छित गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई निगरानीमा राखेर नियन्त्रणमा लिने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी रातिको समयमा लेकसाइड क्षेत्रमा हुने झैझगडा, मादक पदार्थ सेवन गरी सवारी चलाउने गतिविधि, पर्यटकमाथि हुने दुर्व्यवहार तथा अन्य अवाञ्छित क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले निगरानी र चेकजाँचलाई कडा बनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिमाथि वडा प्रहरी कार्यालय बैदामबाट आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य भएकाले यहाँको शान्ति सुरक्षा, मर्यादा र सुरक्षित वातावरण कायम राख्नु पर्यटन क्षेत्रको विश्वाससँग समेत जोडिएको विषय हो। प्रहरीको यस अभियानले लेकसाइड क्षेत्रमा पर्यटकमैत्री वातावरण निर्माण गर्न, रात्रीकालीन गतिविधिलाई व्यवस्थित बनाउन तथा सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कास्की प्रहरीले ‘अपरेसन सभ्यता’ मार्फत लेकसाइड क्षेत्रमा सुरक्षा निगरानी र अवाञ्छित गतिविधिविरुद्धको कारबाहीलाई निरन्तरता दिइरहेको छ।





