बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने,माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

-


     पोखरा क्लिक     
     असाेज २४ गते २०८३ मा प्रकाशित


पोखरा, २४ असोज,

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता हुने भएको छ। आगामी कात्तिक १३ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवबारे शनिबार कसमस इन्टरनेसनल कलेजको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने महोत्सवले बेगनास क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण र आर्थिक गतिविधि चलायमान बनाउने लक्ष्य राखेको छ । पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिए। महोत्सवमा यस क्षेत्रमा उत्पादन हुने विभिन्न जातका माछा तथा मोती खेतीसम्बन्धी जानकारीमूलक प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने उनले बताए ।

बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार गर्दै पर्यटकको आकर्षण बढाउने कार्यक्रमसमेत महोत्सवमा समावेश गरिने लामिछानेले जानकारी दिए। स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायको प्रवद्र्धनसँगै समग्र क्षेत्रको पर्यटन विकासमा महोत्सवले योगदान पु¥याउने उनको विश्वास छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखरा महानगरपालिकाभित्र रहेका आठवटै ताललाई पर्यटकीय सम्भावनाका आधारमा व्यवस्थित रूपमा विकास गर्नुपर्ने बताए। उनले तालहरूको पहिचान र विशेषताअनुसार नामकरण तथा प्रवद्र्धन गर्दै पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सुझाव दिए। साथै, एउटा ताललाई जलक्रीडा (वाटर स्पोट्र्स) केन्द्रका रूपमा विकास गर्न सके पानीमा रमाउन चाहने पर्यटक आकर्षित गर्न सकिने उनको भनाइ थियो। पर्यटन व्यवसायीबीच सहकार्य र एकतामार्फत समग्र कास्कीको विकासमा योगदान दिनसमेत उनले आग्रह गरे।

एसोसिएसनका संस्थापक अध्यक्ष दुर्गाप्रसाद अधिकारीले २०७१ सालदेखि सुरु भएको फिस फेस्टिभलको पाँचौँ संस्करणपछि कोभिड–१९ का कारण लामो समयसम्म आयोजना गर्न नसकिएको बताए। कृषि, पर्यटन र शैक्षिक संस्थालाई जोड्दै लोप हुँदै गएको मौलिक देउसीभैलो संस्कृतिको संरक्षण, विभिन्न जातका माछाका परिकारको प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले छैटौँ संस्करण आयोजना गर्न लागिएको उनले स्पष्ट पारे । पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले लेखनाथ क्षेत्रको आर्थिक गतिविधि बढाउन र पर्यटकको बसाइ अवधि लम्ब्याउन यस्ता महोत्सव उपयोगी हुने बताए। स्थानीय माछाका परिकार तथा रैथाने खानाको प्रवद्र्धनमा महानगरपालिका सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले गाउँ र सहरबीच सहकार्य गरेर उत्पादन र आर्थिक विकासमा जोड दिनुपर्ने बताए ।

एसोसिएसनकी सचिव शक्ति श्री कोइरालाका अनुसार महोत्सव सञ्चालनका लागि करिब ८२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। महानगरपालिका, वडा कार्यालय, नेपाल पर्यटन बोर्ड, टिकट बिक्री तथा स्टलबाट प्राप्त हुने आम्दानीलगायत स्रोतबाट खर्च व्यवस्थापन गरिने उनले जानकारी दिइन्। महोत्सवबाट बचत भएको रकम तालबराही, गोरखनाथ मन्दिर र बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको उनको भनाइ थियो । स्थानीय माछाका विभिन्न प्रजातिलाई ब्रान्डका रूपमा विकास गर्ने, परम्परागत नेपाली गीत–संगीतको संरक्षण तथा प्रवद्र्धन गर्ने र पर्यटन व्यवसायलाई थप चलायमान बनाउने लक्ष्यसमेत महोत्सवले लिएको आयोजकले जनाएको छ ।

कसमस इन्टरनेसनल कलेजकी युनिट प्रमुख प्रभा भुजेलले अन्तर्राष्ट्रिय भाषाको अध्ययन–अध्यापन गराउँदै आएको शैक्षिक संस्था पर्यटन क्षेत्रसँग जोडिएर सहकार्य गर्न तयार रहेको बताइन् । महोत्सवमा पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, गोर्खा ब्रुअरी नेपाललगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका निकायको सहयोग रहने आयोजकले जनाएको छ ।



This will close in 20 seconds