स्थानीय विकासको अनुभवसहित कांग्रेसको केन्द्रीय सदस्यमा देवीजंग गुरुङको दाबी

-


     पोखरा क्लिक     
     असाेज २० गते २०८३ मा प्रकाशित


पोखरा,

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नम्बर १ बाट ३५ वर्षको उमेरमा युवा समूहअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित देवीजंग गुरुङले अब केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

कास्कीको मादी गाउँपालिका–१ का वडाध्यक्षसमेत रहेका गुरुङ युवा उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै स्थानीय विकास र जनसेवामा सक्रिय रहँदै आएका छन्। कांग्रेसको युवा पुस्ताबाट प्रतिनिधित्व गर्दै उनी पार्टीको केन्द्रीय राजनीतिमा आफ्नो भूमिका विस्तार गर्ने तयारीमा छन्। पर्यटकीय गाउँ सिक्लेसको विकासमा समेत गुरुङले महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। जनप्रतिनिधिका रूपमा स्थानीय पूर्वाधार, पर्यटन प्रवर्द्धन तथा जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको उनको दाबी छ।

३५ वर्षकै उमेरमा स्थानीय तहको नेतृत्व सम्हालेर पार्टी राजनीतिमा समेत सक्रिय रहेका गुरुङको उम्मेदवारीलाई कांग्रेसभित्र युवा नेतृत्वको उदयका रूपमा हेरिएको छ। स्थानीय तहमा प्राप्त अनुभवलाई अब पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने लक्ष्यसहित उनी केन्द्रीय सदस्य पदमा अघि बढ्न लागेका हुन्। युवा पुस्तालाई पार्टी नेतृत्वमा स्थापित गर्दै अग्रजको अनुभव र युवाको ऊर्जा तथा नयाँ सोचलाई जोडेर कांग्रेसलाई थप गतिशील बनाउने आफ्नो उद्देश्य रहेको गुरुङले बताएका छन्। स्थानीय तहमा जनप्रतिनिधिको भूमिकामा रहँदै सिक्लेसको विकास र जनताको सेवामा सक्रिय गुरुङको केन्द्रीय सदस्य पदको उम्मेदवारीले कास्की–१ मा समेत नयाँ राजनीतिक चर्चा सुरु भएको छ।



This will close in 20 seconds