
काठमाडौं, भदौ १४,
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले आइतबार अवार्ड मनोनयन घोषणा कार्यक्रममा अवार्डको २३औं संस्करणको वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा ५/५ मनोनयन सार्वजनिक गरेको हो ।
वर्ष पुरुष खेलाडीको मनोनयनमा बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र गल्फका सद्भाव आचार्य परेका छन् । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा करातेका एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी साबित्रा भण्डारी मनोनित भएका छन् । यसैगरी वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषा कुमारी बोहोरा तथा चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव समावेश भएका छन् ।
वर्ष प्रशिक्षकतर्फ बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेट स्टुआर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री मनोनयनमा रहेको मञ्चले आज आइतवार आयोजित कार्यक्रममा जनाएको छ । २३औं संस्करणको अवार्ड भदौ १८ गते प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब स्थित ब्लु पभेलियनमा आयोजना हुुँदै छ । वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस र वर्ष प्रशिक्षकका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । २०८२ सालभित्र अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रदर्शन र नतिजा नै छनोटका आधार रहेको मञ्चका सचिव तथा खेलाडी छनोट समितिका संयोजक अनिल मल्ल ठकुरीले जानकारी दिए । उक्त समितिका सदस्यहरुमा निरञ्जन राजवंशी, हिमेशरत्न बज्रचार्य, प्रजित शाक्य र विराटजंग रायमाझी छन् ।
घोषणा कार्यक्रममा एआइपिएस एसियाका कोषाध्यक्षसमेत रहेका छनोट समितिका सदस्य राजवंशीले देशमा आएको विनासकारी बाढी तथा प्राकृतिक प्रकोपमा जुझिरहेको समयमा अवार्डलाई ठूलो उत्सवका रूपमा नमाउने र मानवीय क्षतिमा समवेदना व्यक्त गर्दै २३औं संस्करण आयोजना गर्न लागेको बताए । देश पीडामा रहेको बेला अवार्ड उत्सब मनाउने नभई खेलकुद क्षेत्र र खेलाडीको तर्फबाट यो विषम परिस्थितिमा साथ दिनु अवार्डको वास्तविक सन्देश हुने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्चले २०६० सालदेखि अवार्ड निरन्तर आयोजना गर्दै आएको छ । यसपल्ट पनि कुल ९ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित हुँदैछन् ।
तीमध्ये पिपल्स च्वाइस विधाको मनोनयनमा फुटबलकी पूजा राना, भलिबलकी मीना सुनार, करातेकी सानुमाया थिङ, मिक्स मार्सल आटर््सका रवीन्द्र ढाँट र क्रिकेटका शेर मल्ल छन् । अन्य विधा लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधाको विजेता घोषणा भदौ १८ गते नै गरिनेछ । यस विधाका विजेता तथा सम्मानित व्यक्तिलाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक गोल्छा ग्रुप रहेको छ । नासा सेक्युरिटिजले अवार्डमा सहप्रायोजन गर्नेछ । सहप्रायोजकहरूमा सूर्य नेपाल प्रालि, आइएमई बाई खल्ती, रोयल सिंगी होटल, केल्मी, इमेजिङ, प्लाजा होटल गु्रप, इम्बार्क कलेज रहेका छन् भने सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र बाग्मती प्रदेश खेलकुद विकास परिषद् छन् ।





