व्यवसायीको घरदैलोमै पुग्दै शोभा गौतम, ‘सबैको सुझाव समेटेर संघलाई सबल बनाउँछौँ’

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन नजिकिँदै गर्दा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको टोली उद्योगी व्यवसायीको घरदैलोमा व्यस्त छ । भदौ २० र २१ गते हुने महाधिवेशनका लागि गौतम नेतृत्वको टोलीले व्यवसायी भेटघाट तथा घरदैलो अभियानलाई तीव्रता दिएको हो । अभियानका क्रममा टोलीले विभिन्न क्षेत्रका उद्योगी व्यवसायीसँग भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र संघबाट गर्नुपर्ने कामबारे सुझाव संकलन गरिरहेको छ ।

गौतमले आफू नेतृत्वमा पुग्नका लागि मात्र नभई व्यवसायीका कुरा सुन्दै संघलाई अझ प्रभावकारी र व्यवसायीमैत्री बनाउने उद्देश्यले घरदैलोमा पुगेको बताइन् । ‘व्यवसायीका वास्तविक आवश्यकता र अपेक्षा बुझेर अघि बढ्नु नै हाम्रो पहिलो प्राथमिकता हो,’ गौतमले भनिन्, ‘सबै व्यवसायीको सुझाव र अनुभवलाई समेटेर संघलाई अझ बलियो, पारदर्शी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता हो ।’

उनले संघमा लामो समयदेखि सक्रिय रहँदा प्राप्त संस्थागत अनुभव र व्यवसायिक यात्राबाट सिकेका कुरालाई आगामी नेतृत्वमा उपयोग गर्ने बताइन् । व्यवसायीबीचको सहकार्यलाई बलियो बनाउँदै संघलाई सबै क्षेत्र र पुस्ताका व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने उनको भनाइ छ । गौतमले विशेषगरी युवा तथा महिला उद्यमीलाई व्यवसायिक नेतृत्वमा थप जोड्ने, नयाँ पुस्तालाई उद्यमशीलतामा आकर्षित गर्ने र व्यवसाय विस्तारका लागि आवश्यक सहजीकरण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताइन् ।

‘संघ सबै व्यवसायीको साझा घर हो । यहाँ हरेक व्यवसायीले आफ्नो आवाज सुन्ने र आफ्नो समस्या राख्ने वातावरण हुनुपर्छ,’ उनले भनिन्, ‘अनुभव भएका अग्रजको ज्ञान र नयाँ पुस्ताको ऊर्जा एकै ठाउँमा ल्याएर पोखराको उद्योग व्यवसाय क्षेत्रलाई थप गतिशील बनाउन चाहन्छौँ ।’घरदैलो अभियानका क्रममा व्यवसायीहरूले बजार, लगानी, बैंकिङ, कर, पूर्वाधार तथा व्यवसाय सञ्चालनका क्रममा देखिएका विभिन्न विषयमा आफ्ना धारणा र सुझाव राखिरहेका छन् । गौतम नेतृत्वको टोलीले व्यवसायीका सुझावलाई आगामी कार्ययोजना निर्माणको आधार बनाउने जनाएको छ ।

महाधिवेशनमा गौतमले आफूलाई अनुभव, संस्थागत निरन्तरता र नयाँ सोचको संयोजनसहितको नेतृत्वका रूपमा प्रस्तुत गरेकी छन् । उनले व्यवसायीबीच सहकार्य र संवादलाई प्राथमिकता दिँदै संघको संस्थागत साख थप उकास्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । महाधिवेशनको मिति नजिकिँदै जाँदा विभिन्न उम्मेदवार तथा समूहले व्यवसायी भेटघाटलाई तीव्र बनाएका छन् । गौतम नेतृत्वको टोलीले पनि घरदैलोमार्फत उद्योगी व्यवसायीसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिइरहेको छ ।