सवा २६ लाख लागतमा कविता पार्क बनाउँदै लुम्ले

-


     असफल गौतम    
     पौष २० गते २०८१ मा प्रकाशित


नेपालको एक मात्र कविता गाउँ कास्कीको लुम्लेमा कविता पार्क बन्ने भएको छ ।

समाजसेवी चिनबहादुर केसीले दान गरेको चार आना दुई पैसा एक दाम जग्गामा समितिले उक्त पार्क निर्माण प्रक्रियालाई अगाडि बढाउन लागेको हो ।

कविता गाउँका प्रणेता विनोद गौचनको ११ औं स्मृति सभाका वक्ताले समिति अल्पकालीन र दीर्घकालीन योजनासहित कविता पार्क निर्माणमा अगाडि बढेको जानकारी गराएका हुन् ।

कविता गाउँ लुम्ले समितिका अध्यक्ष भरत देवकोटाले कविता पार्क प्रस्तावना २०८१ प्रस्तुत गर्दै विनोद गौचनको प्रतिमासहितको कविता पार्क निर्माणमा २६ लाख २५ हजारको लागत लाग्ने जनाए ।

यसैगरी, समाजसेवी रामजीप्रसाद देवकोटाका परिवारले समितिलाई दान घोषणा गरिएको आठ आना जग्गा समितिको नाममा आएपछि समितिले अन्नपूर्ण गौरव योजनाका रूपमा अगाडि बढाएर लुम्ले ग्रामीण पर्यटन प्रवद्र्धन केन्द्रका रूपमा अगाडि बढाउने लक्ष्य समितिको रहेको जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडाध्यक्ष एकदेव देवकोटाले कास्कीको लुम्लेलाई आन्तरिक तथा बाह्य पर्यटन आकर्षणको केन्द्र बनाउन सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

अन्नपूर्ण ६ लुुम्लेले तयार गरेको इन्जिनियरिङ्ग कष्ट विवरण

समितिका संरक्षक विश्वमोहन गौचनले पार्क निर्माणका लागि परिवारबाट सक्दो सहयोग रहे तापनि लुम्लेवासीको साथ र सहयोग विना त्यो काम अपूरो र अधुरो रहने धारणा राखे ।

लुम्ले ६ का पूर्व वडाध्यक्ष चित्रबहादुर गुरुङले विनोद गौचन साधारण व्यक्तित्वका असाधारण प्रतिभा भएको बताउँदै गौचनले देखाएको समृद्धिको बाटोलाई फराकिलो बनाउन लुम्लेबासी एकजुट हुनुपर्नेमा जोड दिए ।

कविता गाउँ लुम्लेका संस्थापक अध्यक्ष भक्तिराम देवकोटाले लुम्लेको नाम फेरिएको मात्र नभएर साना ठूला कार्यक्रम भइसकेकाले अब घोषणा सभाको झल्को दिने गरी काम र कार्यक्रम गर्न क्रियाशील हुनुपर्ने समय आएको बताए ।
समितिका संस्थापक महासचिव सुनिल देवकोटाले लुम्ले कविता गाउँ समितिले देखेको कविता पार्कको सपना पूरा गराउन नीजि जग्गा दान गर्ने चिनबहादुर केसी परिवार धन्यवादका पात्र रहेको बताए ।
पूर्व अध्यक्ष चूडामणि देवकोटाले वर्तमान समितिले अगाडि बढाएका योजनालाई मूर्त रूप दिन लुम्लेबासी जाग्न सकेको खण्डमा लुम्लेलाई नमूना बनाउन सकिने बताए ।
एकल महिला समूह लुम्लेकी अध्यक्ष जौमाया देवकोटाले विनोद गौचनको भौतिक शरीर नभए पनि प्रेरणाले अगाडि बढ्न हौसला मिलेको धारणा राखिन् ।
देवकोटा बन्धु समाजका केन्द्रीय सचिव कीर्तिनाथ देवकोटाले गौचनको योगदानलाई स्मृतिमा मात्र नराखेर कार्यान्वयनमा ल्याउन सबै जाग्नुपर्नेमा जोड दिए ।
समाजसेवी कृष्णप्रसाद देवकोटाले तत्कालीन समयमा विनोद गौचनको तगारोमा रुमाल, जति माया लाए पनि, कस्तो ठाउँमालगायतका गीतका क्यासेट नेपालबाट लिएर गएर साउदी अरबको ५० डिग्रीको तातोमा सुनेर मन शान्त पार्ने गरेको स्मरण गरे ।

समाजसेवी राजन राईले समितिले अगाडि बढाएका कार्ययोजना सफल पार्न एक भएर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताए ।

जग्गादाता समाजसेवी चिनबहादुर केसी

साहित्यकार रविन्द्र माकाजूले लुम्लेलाई कविता गाउँ घोषणाका लागि मात्र घोषणा नगरिएकाले त्यसको मर्म बुझेर लुम्लेबासी जुर्मुराउनुपर्ने धारणा राखे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले कास्की कोटैकोटको जिल्ला भएकाले लुम्लेको चन्द्रकोटलाई पर्यटन प्रवद्धनको केन्द्र बनाउँदै पोयट्री भिलेज टे«कको गुरुयोजना बनाएर स्थानीय सरकार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

साहित्यकार ढाकामोहन बरालले प्रकृतिकाले दिएको सुन्दरतालाई लुम्लेको समुदाय स्रष्टाका सिर्जनाका माध्यमबाट सजाउन सक्रिय रहनु स्तुत्य कार्य भएको बताए ।

गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङले साहित्यकार र कलाकार आफ्नो जीवनमा जति दुःख, कष्ट र पीडा भए तापनि समाजमा चेतनाको ज्योति बाल्ने र वेदनामा शितल दिने अमूल्य नीति हुन् भने ।

कविता गाउँ लुम्लेका सचिव सुवास गुरुङले लुम्लेमा आन्तरिक तथा बाह्य पर्यटनको बसाइ लम्ब्याउन होमस्टे सञ्चालन गरी घरका कोठामा नेपालीपन झल्काउने राष्ट्रिय झण्डा, सारंगी, ठेकी, खुर्पेटो सजाउने, नेपाली र अंग्रेजी भाषामा राष्ट्रिय गानका साथै चर्चित कविका कविता एवम् चित्र सजाउँदै पार्क सौन्दर्यकरणमा समिति लाग्ने बताए ।