३८ वर्षको उमेरमै शिक्षक मनोज थापाको निधन, मदरल्याण्ड मावि शोकमा, मंगलबार नियमित कक्षाहरू सञ्चालन नहुने

-


     पोखरा क्लिक     
     कार्तिक ९ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका शिक्षक मनोज थापाको ३८ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। ब्रेन ट्युमरबाट प्रभावित थापाको भारतमा शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उनको स्वास्थ्यमा केही सुधार आए पनि पुनः सोही समस्याले ग्रसित बनाई उपचारकै क्रममा निधन भएको बिद्यालय श्रोतले जनाएको छ।

थापाको असामयिक निधनले सिंगो विद्यालय परिवार स्तब्ध र मर्माहत बनेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताउनु भएको छ । शिक्षण पेसामा संलग्न रहँदै आएका थापाको अल्पायुमै भएको निधनले विद्यालय परिवारलाई अपूरणीय क्षति पुगेको बिद्यालयले जनाएको छ ।

विद्यालय परिवारले एक शोक वक्तव्य जारी गर्दै दिवंगत शिक्षक थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेको छ।

थापाको निधनप्रति दुःख व्यक्त गर्दै विद्यालयले मंगलबार, कात्तिक १० गते विद्यालय परिसरमा शोकसभा आयोजना गर्ने जनाएको छ। शोकसभामा सहभागी हुन सम्पूर्ण शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीलाई विद्यालयले अनुरोध गरेको छ। शोकसभापछि विद्यालयका नियमित कक्षाहरू सञ्चालन नहुनेसमेत जानकारी गराइएको छ।



This will close in 20 seconds