
पोखरा, ७ असोज,
पोखराको पर्यटनको पहिचान र साहसिक पर्यटनको महत्वपूर्ण आधार बनेको प्याराग्लाइडिङलाई संरक्षण गर्दै यसको दिगो व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल हवाई खेलकुद संस्था (ना) को २३औँ साधारण सभा तथा ११औँ अधिवेशन आज (बुधबार) पोखरामा सम्पन्न गर्दै उनीहरूले सुरक्षा, नियमन र व्यवसायिक स्थायित्वलाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।

सन् १९९६ मा प्रशिक्षणात्मक उडानबाट सुरु भएको प्याराग्लाइडिङले सन् २००० देखि व्यावसायिक रूप लिएको ‘ना’ का अध्यक्ष अनिल केसीले बताए।सुरुमा सात कम्पनीबाट सुरु भएको व्यवसायमा अहिले ५७ कम्पनी र ४१३ प्यारापाइलट आबद्ध छन्। हालसम्म करिब एक अर्ब रुपैयाँ लगानी भएको उनको दाबी छ । उनका अनुसार कुनै समय वार्षिक एक लाख ५० हजारभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेकामा अहिले यो संख्या घटेर ७० देखि ८० हजारमा सीमित भएको छ। प्राकृतिक विपत्ति, पर्यटन आगमनमा आएको कमी तथा सञ्चालनसम्बन्धी विभिन्न चुनौतीले यसको व्यवसाय प्रभावित भएको उनको भनाइ छ। “प्याराग्लाइडिङकै लागि पोखरा आउने पर्यटकको संख्या उल्लेख्य छ र यसले पर्यटकको बसाइ लम्ब्याउन पनि सहयोग गर्छ,” केसीले भने।
उक्त कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्याराग्लाइडिङ पोखराको पहिचान भएकाले यसको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणका फ्लाई सेफ्टी विभाग प्रमुख प्रभाकरचन्द्र मल्लिकले पनि दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नियमन र नियमको पूर्ण पालना आवश्यक रहेको बताए। नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले प्याराग्लाइडिङ पोखराको पर्यटनसँग पर्यायजस्तै बनिसकेको बताए। “दिगो पर्यटनका लागि जल, जमिन र आकाश तीनै क्षेत्रमा गतिविधि आवश्यक छ,” उनले भने। पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्याराग्लाइडिङलाई अनावश्यक रूपमा सीमित गर्नुभन्दा सुरक्षित र व्यवस्थित ढंगले खुला वातावरणमा सञ्चालन गर्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष कास्कीका अध्यक्ष माधव बरालले पोखराको प्याराग्लाईडिङलाई व्यबस्थित र सुरक्षित बनाउन सुझाव दिए ।
पोखराको आकाशमा हिमाल, ताल र प्राकृतिक दृश्यसँगै उडानको अनुभव लिन पाउनु प्याराग्लाइडिङको मुख्य आकर्षण हो। त्यसैले व्यवसायी, सरकार र नियामक निकायबीच समन्वय गर्दै प्याराग्लाइडिङलाई सुरक्षित, व्यवस्थित र दीगो बनाउनु नै पोखराको पर्यटनलाई दीर्घकालीन रूपमा बलियो बनाउने आधार हुने सरोकारवालाले जोड दिएको महासचिव बलराम आचार्यले बताए । उक्त अवसरमा पत्रकार कृष्णमणि बराल र विमल तिवारीलाई सम्मान गरिएको छ ।




