
दीननाथ बराल,
पोखरा १३, भदौं
पोखरामा सडक नालीबाट अचानक आएको तीव्र भेलमा परेर आमा–छोरीको ज्यान गएको छ। वर्षासँगै सडकमा बढेको पानीको बहावले पोखरा महानगरपालिका–१७ हर्कचोकमा शुक्रबार दिउँसो एकै परिवारका दुई जना आमा छोरीलाई बगाएको थियो ।
पोखरा–३० ढुङ्गेपाटनमा बस्दै आएकी २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो करिब ४ बजे सुष्मा, उनका श्रीमान् ३० वर्षीय कमल दाहाल र दुई वर्षीया छोरी रानीका स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिए। ग १३ प २८५९ नम्बरको स्कुटर हर्कचोकमा साइड लगाएर ओर्लने क्रममा सडक नालीबाट आएको भेलले आमा–छोरीलाई बगाएको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार पानीको बहाव तीव्र भएपछि स्कुटर रोकेर ओर्लने क्रममा सुरुमा छोरी रानीकालाई भेलले बगाएको थियो। छोरीलाई बचाउने क्रममा आमा सुष्मा पनि भेलमा बगेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। स्कुटर चालक कमल भने सामान्य घाइते भएका छन्। घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामका डीएसपी सूर्यबहादुर बोगटीको नेतृत्वमा २१ जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीले खोजी तथा उद्धार गर्दा आमा–छोरीलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट साँझ ४ बजेर २३ मिनेटमा उद्धार गरिएको थियो।
उद्धारका क्रममा दुवैको शरीरमा बाहिरी चोट खासै नदेखिए पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनकी दुई वर्षीया छोरी रानीकाको भने शनिबार बिहान १ बजेर २१ मिनेटमा मृत्यु भएको हो। दुवैको शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
व्यवस्थित नाला र भलपानी व्यवस्थापनको माग
पोखरामा वर्षायाम सुरु भएसँगै सडक र नालीमा जम्मा हुने पानी अचानक तीव्र गतिमा बग्ने समस्या दोहोरिँदै आएको स्थानीयवासी बताउँछन्। पर्याप्त पानी निकासको व्यवस्था नहुँदा सामान्य वर्षामै सडकमा पानी जम्ने र नालीबाट एक्कासि ठूलो वेगमा भल बग्ने गरेको उनीहरूको भनाइ छ।
यसअघि पनि पोखराका विभिन्न स्थानमा सडक तथा नालीबाट आएको भेलका कारण दुर्घटना तथा मानवीय क्षति हुँदै आएको स्थानीयको स्मरण छ। स्थानीय सनत बरालले पछिल्लो घटनाले पोखराको सडक, नाला तथा पानी निकास प्रणालीको अवस्थामाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। उहाँले वर्षाको पानीलाई व्यवस्थित रूपमा निकास गर्ने पूर्वाधार निर्माणसँगै जोखिमयुक्त स्थान पहिचान गरी तत्काल सुधार गर्नुपर्ने माग गर्नुभयो।
स्थानीयवासीले सडक निर्माणसँगै नाला तथा भलपानी व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न महानगरपालिका र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूका अनुसार पानीको प्राकृतिक बहावलाई व्यवस्थित नगरी सडक तथा अन्य संरचना मात्र निर्माण गर्दा वर्षायाममा यस्ता दुर्घटनाको जोखिम अझ बढ्न सक्छ। आमा–छोरीको ज्यान गएको यो घटनाले पोखरामा वर्षायाममा हुने भलपानीको जोखिम न्यूनीकरणका लागि दीर्घकालीन र प्रभावकारी योजना आवश्यक रहेको देखाएको स्थानीयको भनाइ छ।





