बाढीपहिरो पीडितका लागि पोखराबाट निःशुल्क राहत ढुवानी, हिमालयन रोयल पोखरा टुर्स एन्ड ट्राभलको मानवीय पहल

-


     पोखरा क्लिक     
     भाद्र १४ गते २०८३ मा प्रकाशित


पोखरा,

भोटेकोशीमा आएको बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले हिमालयन रोयल पोखरा टुर्स एन्ड ट्राभल प्राइभेट लिमिटेडले मानवीय सेवाको महत्वपूर्ण पहल अघि सारेको छ। विपत्तिका कारण धेरै नेपालीले ज्यान गुमाउनुका साथै ठूलो धनजनको क्षति व्यहोर्नुपरेको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउन पोखराबाट दुईवटा गाडी निःशुल्क रूपमा परिचालन गर्ने भएको हो।

कम्पनीका संरक्षक — योगेन्द्र बहादुर केसीका अनुसार राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याउने उद्देश्यले ती गाडीहरू भोलि (सोमबार) देखि निःशुल्क सेवाका लागि परिचालन गरिनेछन्। विपत्तिको समयमा पीडित परिवार तथा प्रभावित समुदायलाई सकेको सहयोग गर्नु सबैको मानवीय दायित्व भएको भन्दै कम्पनीले यो अभियानलाई व्यक्तिगत प्रचारभन्दा माथि उठेर मानवीय सेवाको रूपमा अघि बढाएको जनाएको छ। यस अभियानका लागि पृथ्वीराजमार्ग बस सञ्चालन कम्पनी प्राइभेट लिमिटेड परिवार तथा क्यू संयोजक बाबुराम दवाडीबाट प्राप्त सहयोगप्रति हिमालयन रोयल पोखरा टुर्स एन्ड ट्राभलले विशेष आभार व्यक्त गरेको छ। दवाडीको पहलमा दुईवटा गाडीको रिजर्भ शुल्कसमेत निःशुल्क व्यवस्था गरिएको कम्पनीले पोखराक्लिकलाई जनाएको छ।

हिमालयन रोयल पोखरा टुर्स एन्ड ट्राभलले आफ्नो अभियानमार्फत विपत्तिमा परेका नागरिकलाई राहत पुर्‍याउन सबै पक्षलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वानसमेत गरेको छ। “सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो” भन्ने भावनासहित अघि बढाइएको यस अभियानले विपत्तिको समयमा निजी क्षेत्र तथा व्यवसायिक संस्थाहरूले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानवीय सेवामा योगदान दिन सक्ने उदाहरण प्रस्तुत गरेको छ।