
पोखरा, १३ भदौ,
पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ १४ गते (आइतबार) नाच देखाउने तयारी छ ।
पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रुपमा उक्त कार्यक्रम गर्न लागिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । यो कार्यक्रम मनोरञ्जनात्मकभन्दा पनि सांस्कृतिक महत्वको रुपमा नियमित कार्यक्रमअन्तर्गत देखाउन लागिएको उनले प्रस्ट पारे । लाखे नाच हेर्न आउने दर्शकलाई भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ । पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित भीमसेन गुठी भैरवस्थान, हटियाको लाखे नाचका लागि कलाकार टोली आइतबार दिउँसोसम्म यहाँ आइपुग्नेछ । पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच साँस्कृतिक आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए ।
न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा आइतबार राति ७ देखि १२ बजेसम्म लाखे नाच देखाइने पाल्पाली समाज पोखराका सचिव पदमप्रसाद पोखरेलले बताए । यो नाचको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको कार्यक्रम संयोजक श्यामनाथ कुँवरले बताए ।
शनिबार नेवारी समुदायले गाईजात्रा अवसरमा पोखरामा पनि मृत्युभएका घरपरिवारका सदस्यको स्मरणमा गाईजात्रा निकाले । केहीले तायः मचाः नृत्य प्रस्तुत गरे । लाखे नाचमा पनि भोटेकोशी बाढीमा ज्यान गुमाएहरुको स्मरण गरिनेछ ।
पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए । ५०० वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरवस्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचल्ती सुरु गरेको पाइन्छ । पाल्पाको लाखे नाच अन्य ठाउँको तुलनामा बाजाको ताल, नाच्ने कलामा फरक पाइन्छ ।





