
पोखरा,
पोखरा महानगरपालिका वडा नं.२२ अन्तर्गत वडा स्तरीय संयुक्त तीज गीत प्रतियोगिता आयोजना हुने भएको छ। वडा नं.२२ स्थित शान्ति स्तुप नजिकैको दहरामा आगामी भदौ २० गते शनिबार प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको हो।
कालिमाटी शान्ति स्तुप टोल विकास संस्था, सृजनशील क्लब तथा कालिमाटी शान्ति स्तुप मोटर बाटो उपभोक्ता समितिको संयुक्त आयोजनामा हुने प्रतियोगितामा वडा नं.२२ का विभिन्न टोलका आमा समूहहरु , आमा–दिदीबहिनी तथा विभिन्न संघसंस्थाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु। १५,०००, रु। १०,००० र रु। ६,००० पुरस्कार प्रदान गरिनेछ। साथै सान्त्वना पुरस्कार ३००० हजार लगायत विभिन्न विधामा पुरस्कार तथा सम्मानको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा तीज गीतसँगै नृत्य, भेषभूषा, प्रस्तुति, मौलिकता, आपसी तालमेल, लय, शब्द तथा विषयवस्तु लगायत विभिन्न पक्षलाई मूल्यांकनको आधार बनाइनेछ। प्रतियोगिताको निष्पक्ष मूल्यांकनका लागि वडा नं। २२ बाहिरका गीत–संगीत क्षेत्रमा आबद्ध अनुभवी तथा विज्ञ व्यक्तित्वहरूलाई निर्णायकका रूपमा सहभागी गराउने तयारी गरिएको छ। तीज गीत प्रतियोगितालाई अझ मनोरञ्जनात्मक र सहभागितामूलक बनाउन विभिन्न रमाइला खेल तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत आयोजना गरिने आयोजकले जनाएको छ।
स्थानीय कला, संस्कृति तथा मौलिक तीज परम्पराको संरक्षण र प्रवर्द्धनसँगै वडा नं। २२ का महिला तथा आमा समूहबीच आपसी एकता, सद्भाव र सिर्जनात्मकताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रमलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक व्यवस्थापन, नियमावली, मूल्यांकनका आधार, खेल तथा मनोरञ्जनात्मक कार्यक्रम, सहभागी समूहको व्यवस्थापन लगायतका विषयमा आयोजक संस्थाहरूबीच संयुक्त बैठक बसी थप तयारी तथा आवश्यक निर्णय गरिने जनाइएको छ।





