स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर ११ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, मंसिर,

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल कास्कीले आज (शुक्रबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्र्रममा बोल्दै महासचिव पोखरेलले स्थानिय तहमा जनप्रतिनिधि विहिन हुन नदिन समयमै निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो ।

जनताबाट अनुमोदित हुने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको उल्लेख गर्दै उहाँले निर्वाचन कसको पक्षमा जान्छ भन्नेभन्दा पनि जनतामाझ जाने र जनताको मत लिने विषय महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । महासचिव पोखरेलले निर्वाचनको समय बाँकी रहँदै निर्वाचन गराउनुपर्ने आवश्यकता औँल्याउँदै आफ्नो पार्टी यस विषयमा स्पष्ट धारणा राखेर अघि बढेको बताउनु भयो । उहाँका अनुसार जनताबाट अनुमोदित हुने विषय लोकतान्त्रिक अभ्याससँग जोडिएको महत्त्वपूर्ण पक्ष हो । निर्वाचनलाई लक्षित गर्दै पार्टीभित्रका कमी–कमजोरी सुधार गर्ने, कार्यकर्ताको मनोबल उच्च बनाउने र जनतामाझ गुम्दै गएको भूमिकालाई पुनः स्थापित गर्ने योजनासहित एमाले अघि बढेको पोखरेलको भनाई थियो । राष्ट्रिय भेलामार्फत पार्टी शुद्धीकरण र सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी दिनमा गर्नुपर्ने कामको दिशा तय गरिएको उहाँको भनाइ छ । महासचिव पोखरेलले एमालेले दुईवटा मुख्य कार्यभार र १५ बुँदे कार्ययोजनालाई केन्द्रमा राखेर पार्टीलाई अगाडि बढाइरहेको उल्लेख गर्नुभयो । आम निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लैजाने र संगठनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँको भनाई छ ।

विगतको अवस्था दोहोरिन नदिने गरी पार्टी सुधारको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अघिल्लो निर्वाचनको जस्तो अवस्था नहुने दाबीसमेत गर्नुभयो । संविधान र लोकतन्त्रको पक्षमा काम गर्ने विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल गर्न सकिने उहाँको भनाइ छ । यस विषयमा पार्टीभित्र छलफल भइरहेको पनि उनले जानकारी दिनुभयो । यसैबीच, महासचिव पोखरेलले वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै मुलुकको भविष्यप्रति ७ महिनामै अनिश्चितता उत्पन्न हुनु दुःखद भएको बताउनु भयो । यसको प्रमुख कारण प्रधानमन्त्रीको कार्यशैली रहेको उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको कार्यशैलीले आम जनता र समग्र राजनीतिक वातावरणमा अनिश्चितता सिर्जना गरेको महासचिव पोखरेलको आरोप छ । संविधान र कानुनले निर्धारण गरेको शासन व्यवस्थाअनुसार सरकार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उहाँले प्रधानमन्त्रीको कार्यशैली उक्त संवैधानिक तथा कानुनी मान्यताअनुरूप नरहेको गुनासो गर्नुभयो । प्रेस स्वतन्त्रताको विषयमा पनि पोखरेलले सरकारको आलोचना गर्नुभयो । समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने वा सञ्चारगृहमा प्रतिबन्ध लगाउने कार्य संविधानको मर्मविपरीत हुने उहाँको भनाइ छ । सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य भइरहेको भन्दै उनले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति आपत्ति जनाउनु भयो ।