फेवा किङ्स कपमा गण्डकीको शीर्षस्थान कायमै, आर्मी र कोशी बाहिरियो

-


     पोखरा क्लिक     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


पोखरा, १२ मंसिर,

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा जारी फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल संघले शीर्षस्थान कायमै गरेको छ । ४ खेल खेलेको गण्डकी प्रदेश भलिबल संघले ३ खेलमा जीत निकाल्दै १० अंकसहित शीर्षस्थान कायम गरेको हो ।

प्रतियोगिताका मुख्य तथा अन्तरराष्ट्रिय रेफ्री तहलसिंह थापामगरका अनुसार नेपाल पुलिस क्लब ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । पुलिस क्लबले ४ खेलमा ३ जीत र १ हार ब्यहोरेको छ । । यस्तै नेपाल पुलिसलाई पछ्याउदै एपीएफ क्लब ७ अंकसहित तेस्रो स्थानमा छ । एपीएफले ४ खेलमा ३ जीत निकालेको छ भने १ हार ब्यहोरेको छ । आयोजक युनाइटेड किङ्स क्लब ६ अंकसहित चौंथो स्थानमा समेटिएको छ । यता समान २र२ अंक रहेको त्रिभुवन आर्मी क्लब तथा कोशी प्रदेश भलिबल संघ प्रतियोगिाबाट बाहिरिएको छ । शनिबार भएको पहिलो खेलमा एपीएफ क्लबले ३–२ को सेटमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै कोशी प्रदेश भलिबल संघले प्रतियोगिताकै पहिलो जीत हाँसिल गर्यो । तेस्रो खेलमा आयोजक युनाइटेड किङ्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस क्लबले सहज जीत निकालेको प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए ।

उनका अनुसार आइतबार लिग चरणकै अन्तिम तीन खेल हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा एपीएफ क्लब र आयोजक युनाइटेड किङ्स क्लब भिड्नेछ । लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लब प्रतिस्पर्धामा उत्रने गुरुङले बताए । फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।