भोटेकोशी बाढीमा कास्कीका १४ जना सम्पर्कविहीन, पोखराबाट राहत र उद्धारमा सक्रियता

-


     पोखरा क्लिक     
     भाद्र ११ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ११ भदौ

रसुवा र भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी कास्कीबाट पुगेका १४ जना अझै सम्पर्कविहीन भएका छन् । बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ ।

विभिन्न काम, भ्रमण तथा अन्य प्रयोजनले रसुवा पुगेका व्यक्तिहरू सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रशासनमा जानकारी गराएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनु भयो । हालसम्म १४ जनाको विवरण प्राप्त भएको र अन्य व्यक्ति पनि सम्पर्कविहीन हुन सक्ने भएकाले विवरण संकलनको काम जारी रहेको उहाँले जनाउनु भयो । प्रशासनमा प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा पोखरा–१७ की सविना पौडेल, पोखरा–१५ का छमप्रकाश थापा, पोखरा–१५ की मनु बुढा, पोखरा–५ की सृष्टि बास्तोला, पोखरा–६ का अभिषेक आचार्य, पोखरा–१२ का लीलाबहादुर थापा, पोखरा–१२ का सुमन श्रेष्ठ, पोखरा–१५ की देवीकुमारी गुरुङ, पोखरा–१३ की विनु गुरुङ र पोखरा–१४ का गोविन्दबहादुर अधिकारी रहेका छन्।

त्यस्तै, कास्कीमा बसोबास गर्दै आएका सिराहाको धनगढीमाई नगरपालिका स्थायी ठेगाना भएका आनन्दकुमार महतो, सिन्धुलीका प्रविन पुर्जा, काठमाडौंका राजेश शर्मा तथा ठेगाना खुल्न नसकेकी प्रमिला पाठक पनि सम्पर्कविहीनको सूचीमा छन्। राजेश शर्मा दुई बालबालिकासहित रहेको हुन सक्ने आफन्तले जानकारी गराउनु भएको छ ।

यसैबीच, बाढी तथा पहिरोपछि पोखरा ल्याइएका पहिचान नखुलेका नौ जनाको शव व्यवस्थापन गरिएको छ । शवको पोस्टमार्टमलगायत आवश्यक प्रक्रिया पूरा गरी आफन्तको पहिचान भएपछि बुझाइने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताउनु भयो । पोखरा क्षेत्रमा एकैपटक ११६ जनासम्मको शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको प्रशासनले जनाएको छ । कास्कीबाट सहयोग गर्नु हुने दाताहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सहयोगको भौचर तथा सहयोगको स्क्रिन सर्ट प्रशासनसम्म त्यसको फोटो कपि पेश गर्न प्रशासनले आग्रह गरेको छ । यस क्षेत्रबाट के कति सहयोग संकलन भयो त्यसको लेखाजोखा राख्न पनि उक्त अभियानमा सहयोग गर्न प्रशासनले कास्की बासीमा अनुरोध गरेको हो ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लाका नदी तथा खोलाको तटीय क्षेत्र प्रभावित भएका छन्। बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै सयौं नागरिक बेपत्ता हुनु भएको छ । विपद्को प्रभावमा परेका नागरिकको खोजी, उद्धार र राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग र पहलसमेत बढ्दै गएको छ ।

पोखराबाट राहत र उद्धारमा हातेमालो

बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पोखराबाट सरकारी निकाय, निजी क्षेत्र तथा व्यवसायीले सहयोग अघि बढाएका छन्। पोखरा महानगरपालिकाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारका लागि नगर प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । महानगर प्रमुख धनराज आचार्यका अनुसार विपद् व्यवस्थापनसम्बन्धी तालिम प्राप्त नगर प्रहरी, आवश्यक उद्धार सामग्री, प्राथमिक उपचारका उपकरणसहितको एम्बुलेन्स र स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको हो । परिचालित टोलीका लागि आवश्यक सामग्री तथा सम्पूर्ण खर्च महानगरपालिकाले व्यवस्थापन गर्ने उहाँले बताउनु भयो ।

महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरिएको छ। विपद्को कठिन अवस्थामा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गर्न लागिएको प्रमुख आचार्यले बताउनु भयो । उहाँले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारमा स्थानीय तहका तर्फबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै कठिन परिस्थितिमा पीडित नागरिकको साथमा महानगरपालिका रहने बताउनु भयो ।