
पोखरा,
पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा चार दिनमै १ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको चौथो दिन शनिबारमात्रै २० लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको आयोजकले जनाएको छ।
महायज्ञको दोस्रो दिनसम्म ८५ लाख रुपैयाँ संकलन भएकोमा तेस्रो दिन थप २० लाख रुपैयाँ प्राप्त भएपछि तीन दिनमा १ करोड ५ लाख रुपैयाँ संकलन भएको अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीले जानकारी दिए। चौथो दिन २० लाख ५० हजार थपिएपछि कुल रकम १ करोड २५ लाख ५० हजार रुपैयाँ पुगेको हो। महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले भागवत कथा वाचन गरिरहेका छन् भने भक्तजन भजन–कीर्तनमा सहभागी हुँदै नाचगानसमेत गरिरहेका छन्।
महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार भदौ २५ गतेसम्म सञ्चालन हुने महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रम भइरहेका छन्। महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ भने केही रकम बाढीपीडित राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको आकर्षक शिवालयका रूपमा पुनःनिर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राखिएको छ। सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास छ। स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि मन्दिर स्थापना गरेका थिए।





