
पोखरा,
घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेको कास्कीले गण्डकी प्रदेशस्तरीय ‘पीएम कप’ महिला टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको उपाधि भिडन्तमा स्याङ्जालाई पाँच विकेटले पराजित गर्दै कास्कीले च्याम्पियन बन्ने गौरव हासिल गरेको हो । प्रतियोगिताभर अपराजित रहेको कास्कीले चार खेलबाट आठ अङ्क जोड्दै उपाधि जितेको हो ।
अन्तिम खेलमा स्याङ्जाले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य कास्कीले १९ ओभरको दोस्रो बलमा पाँच विकेटको क्षतिमा भेट्टायो । कास्कीको जितमा रेखा तामाङले निर्णायक भूमिका निर्वाह गरिन् । उनले ३२ बलमा दुई चौकासहित अविजित २५ रन बनाइन् । त्यस्तै चन्द्रमाया बरालले २३, विनीता सिग्देलले १० र सृजना पौडेलले सात रनको योगदान दिइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८७ रन बनाएको थियो । स्याङ्जाका लागि सीमाना केसीले १६, अरमिना अधिकारीले १४ तथा श्रेया शाहले ११ रन जोडे । कास्कीकी सीमाना रेग्मी र रिया तामाङले समान दुई विकेट लिए । बलिङतर्फ स्याङ्जाका भावना भट्टराई, अपेक्षा बुढाथोकी, सलिना सेन र रञ्जना साउदले एक–एक विकेट लिए । ब्याटिङमा अविजित २५ रन बनाउनुका साथै बलिङमा समेत योगदान पुर्याएकी कास्कीकी रेखा तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ स्याङ्जाकी सीमाना केसीले ‘प्लेयर अफ द सिरिज’को उपाधि जितिन् । कास्कीकी चन्द्रमाया बराल उत्कृष्ट ब्याटर तथा स्याङ्जाकी अपेक्षा बुढाथोकी उत्कृष्ट बलर घोषित भइन् । पाँच जिल्लाको सहभागिता रहेको प्रतियोगितामा स्याङ्जा तीन जित र एक हारसहित छ अङ्क जोडेर दोस्रो स्थानमा रह्यो । नवलपुरले दुई तथा पर्वतले एक खेल जित्दा बागलुङ भने जितविहीन बन्यो । विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे ।
यस प्रतियोगिताको प्रदर्शनका आधारमा आगामी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको महिला क्रिकेट टोली छनोट गरिने गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । त्यस्तै, मङ्सिर तेस्रो सातादेखि पोखरामा आयोजना हुने ‘पीएम कप’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पनि यसै प्रतियोगिताको प्रदर्शनलाई आधार मानेर प्रदेश टोली निर्माण गरिने सङ्घले जनाएको छ ।





