रसुवामा विनाशकारी बाढीः पर्यटकसहित सयौं सम्पर्कविहीन, नारायणगढसम्म उच्च सतर्कता अपनाउन आग्रह

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८३ मा प्रकाशित


रसुवा/पोखरा

चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले बस्ती, बजार, सडक, पुल, सुरक्षा चौकी तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याउनुका साथै ठूलो संख्यामा मानिसलाई सम्पर्कविहीन बनाएको सुरक्षा निकाय तथा स्थानियले बताएका छन् ।

बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदीमा फैलिँदै गएपछि रसुवादेखि नुवाकोट, धादिङ हुँदै चितवनको नारायणगढसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चितवन प्रशासनले समेत नदीको बहाव बढ्दै गएपछि नारायणगढसहितका जोखिमयुक्त तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको जनाएको छ।

प्रारम्भिक रुपमा ३८४ पर्यटक तथा यात्रु सम्पर्कविहीन

बाढीका कारण रसुवाको प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा २९१ विदेशी र ९३ नेपाली रहेका छन्। विदेशीमध्ये कम्तीमा १०५ जना भारतीय नागरिक रहेका छन्। अन्य सम्पर्कविहीन विदेशीमा अमेरिका, बेलायत, अष्ट्रेलिया, नेदरल्यान्ड्स, मलेसिया, दक्षिण अफ्रिका लगायतका देशका नागरिक रहेको प्रारम्भिक विवरण छ। केही विदेशीको राष्ट्रियता भने अझै यकिन हुन बाँकी छ। नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन, सुरक्षा निकाय, ट्रेकिङ तथा ट्राभल एजेन्सी र गाइडहरूसँगको समन्वयमा सम्पर्कविहीन यात्रुहरूको अवस्था पहिचान गर्ने काम भइरहेको छ। बोर्डले उक्त संख्या प्रारम्भिक भएकाले विवरण थप यकिन हुँदै जाने जनाएको छ।

टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति

बाढीले रसुवाको टिमुरे र स्याफ्रुबेँसी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बजार क्षेत्र, बस्ती, प्रहरी तथा सुरक्षा संरचना, भन्सार कार्यालय र सडक–पुलमा क्षति पुगेको प्रारम्भिक विवरण छ। भोटेकोशीको बाढी त्रिशूली नदीतर्फ बढेपछि नदी किनारका विभिन्न बस्तीमा समेत जोखिम बढेको छ। नुवाकोटको बेट्रावती, मेलुङ, त्रिशूली तथा आसपासका क्षेत्रमा पनि बाढीको प्रभाव देखिएको छ। बाढीबाट भएको वास्तविक मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै संकलन हुन सकेको छैन। सञ्चार सम्पर्क अवरुद्ध भएका र दुर्गम क्षेत्रका कारण क्षतिको यकिन विवरण आउन समय लाग्ने अधिकारीहरूले बताएका छन्।

सुरक्षाकर्मीसमेत सम्पर्कविहीन

बाढीमा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्। टिमुरे क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका केही जवान सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ। उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाले हेलिकोप्टर तथा मेडिकल टोलीसहित उद्धार टोली परिचालन गरेको छ। तर प्रतिकूल मौसम, बाढीको तीव्र बहाव र अवरुद्ध सडकका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

नारायणगढसम्म उच्च जोखिम

रसुवाबाट आएको बाढी त्रिशूली हुँदै तलतिर बढेपछि यसको प्रभाव चितवनसम्म देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चितवनमा विशेषगरी मुग्लिन बजार, नारायणगढको नारायणी नदी किनार, भरतपुर महानगरपालिका–१६ का तटीय क्षेत्र तथा पश्चिम चितवनका केही भूभागलाई जोखिमयुक्त क्षेत्रका रूपमा राखिएको छ। नदीको बहाव बढ्दै गएपछि स्थानीय प्रशासनले तटीय बस्तीका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्न थालेको जनाएको छ। यससँगै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकखण्डमा अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।

उद्धार र खोजी तीव्र

प्रधानमन्त्री बालेंद्र शाहको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन तथा विपद् व्यवस्थापन निकायलाई उद्धार र राहतमा परिचालन गरिएको छ। दुईवटा नेपाली सेनाका हेलिकोप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। बाढीबाट प्रभावित तथा सम्पर्कविहीन पर्यटक र यात्रुको खोजीका लागि नेपाल पर्यटन बोर्डले समेत ट्राभल तथा ट्रेकिङ कम्पनी, गाइड, पर्यटक प्रहरी र स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ। पर्यटन बोर्डले प्रभावित वा सम्पर्कविहीन व्यक्तिबारे जानकारी तथा सहयोगका लागि टोल फ्री १२३४, हटलाइन ११४४ तथा पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।

विपद्को वास्तविक क्षति अझै खुल्न बाँकी

रसुवाको भोटेकोशीमा आएको यो आकस्मिक बाढीले केही घण्टामै हिमाली क्षेत्रदेखि मध्यपहाडी बस्ती हुँदै त्रिशूली–नारायणी नदी करिडोरसम्म त्रास फैलाएको छ। मानवीय क्षतिको पूर्ण विवरण अझै प्राप्त भइनसकेको अवस्थामा सयौं मानिस सम्पर्कविहीन हुनु र ठूलो भौतिक संरचना क्षतिग्रस्त हुनु विपद्को गम्भीरता दर्शाउने प्रारम्भिक संकेत बनेको छ।

उद्धार टोली प्रभावित क्षेत्रमा पुग्ने क्रम जारी रहेकाले मृत्यु, बेपत्ता र भौतिक क्षतिको वास्तविक संख्या अझै बढ्न सक्ने वा संशोधन हुन सक्ने अधिकारीहरूले बताएका छन्। अहिलेको मुख्य प्राथमिकता भनेको सम्पर्कविहीनको खोजी, जोखिमयुक्त तटीय बस्तीका नागरिकको सुरक्षित स्थानान्तरण र थप मानवीय क्षति रोक्नु रहेको छ। फोटो सामाजिक संजाल ।