
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले निजी क्षेत्रको सुदृढीकरण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन, साना तथा मझौला व्यवसायीको संरक्षण र युवालाई स्वदेशमै उद्यमशीलतामा आकर्षित गर्ने विषयलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्।
‘व्यवसायीको उत्थानः समुन्नत संघ’ भन्ने मूल नारासहित अध्यक्ष पदमा पुनः उम्मेदवारी दिएका पोखरेलले कठिन अवस्थामा निजी क्षेत्र र व्यवसायीको बलियो खम्बाका रूपमा संघलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।व्यव साय सञ्चालनको चुनौती आफैंले समेत भोगिरहेको उल्लेख गर्दै पोखरेलले व्यवसायीका समस्या आफ्ना व्यक्तिगत सरोकारसमेत भएको बताएका छन्। विगतका दुई निर्वाचनमा परिणाम आफ्नो पक्षमा नआए पनि व्यवसायी र उनीहरूका साझा मुद्दाबाट आफू कहिल्यै टाढा नभएको उनको भनाइ छ। “निष्ठाको यात्रामा कहिल्यै पूर्णविराम हुँदैन। व्यवसायिक हितको रक्षा गर्नु मेरो प्रमुख दायित्व हो, जसका लागि मैले आफ्नो जीवनको अमूल्य समय समर्पित गरेको छु,” पोखरेलले भनेका छन्।विगतका अनुभवले आफूलाई अझ परिपक्व र दृढ बनाएको दाबी गर्दै उनले यसपटक व्यवसायीको विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन्।
‘ग्रेटर पोखरा’को अवधारणालाई प्राथमिकता
पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई ‘ग्रेटर पोखरा’को अवधारणाअनुसार थप विस्तारित र प्रभावकारी बनाउने योजना अघि सारेका छन्। पोखरा र आसपासका आर्थिक गतिविधि तथा सम्भावनालाई विश्वव्यापी बजारसँग जोड्न निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्ने उनको प्रतिबद्धता छ। उनले पोखरालाई अन्तर्राष्ट्रिय व्यापार, पर्यटन र लगानीको केन्द्रका रूपमा विकास गर्न संघले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने एजेन्डा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको पोखरेलले बताएका छन्। यसका लागि राज्यका सम्बन्धित निकायसँग निरन्तर व्यावसायिक संवाद र दबाब सिर्जना गर्ने उनको योजना छ। अन्तर्राष्ट्रिय क्षेत्रसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न ‘व्यावसायिक दूत’ परिचालन गर्ने तथा ःक्ष्ऋभ् त्यगचष्कm मार्फत द्विपक्षीय अनुभव आदानप्रदानका कार्यक्रम सञ्चालन गर्ने उनले बताएका छन्। “आधुनिक पोखराको भाग्य र भविष्यको गेटवे यही विमानस्थल हो भन्ने कुरा हामीले बुझ्न जरुरी छ,” पोखरेलको भनाइ छ।
साना व्यवसायीदेखि ठूला उद्योगीसम्मको साझा घर बनाउने प्रतिबद्धता
पोखरेलले पोखरा उद्योग वाणिज्य संघलाई साना, मझौला र ठूला उद्योगी–व्यवसायी सबैको साझा घरका रूपमा विकास गर्ने बताएका छन्। सबै व्यवसायीको आवाज समान रूपमा सुनिने प्रणाली विकास गर्ने, साना तथा घरेलु उद्योगलाई वित्तीय पहुँच र बजार सुनिश्चितताका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उनको योजना छ। व्यवसायीका वास्तविक समस्या पहिचान गरी संघको सेवा र पहुँचलाई तल्लो तहसम्म पुर्याउने विषयलाई समेत उनले प्राथमिकतामा राखेका छन्।
निजी क्षेत्रमाथिको ‘धरपकड’ अन्त्यका लागि संवाद
व्यवसाय सञ्चालनका क्रममा देखिने कानुनी, प्रशासनिक तथा नीतिगत अवरोध हटाउन संघको तर्फबाट सशक्त पैरवी गर्ने पोखरेलले बताएका छन्। विभिन्न नाममा निजी क्षेत्रमाथि भइरहेको ‘धरपकड’लाई संवाद र समन्वयमार्फत समाधान गर्ने उनको प्रतिबद्धता छ। व्यवसायीलाई त्रसित बनाउनेभन्दा राज्य र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माण गर्न संघले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको धारणा छ।
युवालाई पोखरामै रोक्ने योजना
पछिल्लो समय ठूलो संख्यामा ऊर्जावान् युवा जनशक्ति विदेश पलायन भइरहेको अवस्थालाई पोखरेलले पोखराको अर्थतन्त्रका लागि गम्भीर चुनौतीका रूपमा लिएका छन्। युवालाई पोखरामै रोक्दै उद्यमशीलतातर्फ आकर्षित गर्न संघको नेतृत्वमा सीप, उद्यम र बजारबीचको तादात्म्यता मिलाउने दिगो मोडेल विकास गर्ने उनको योजना छ। सीप भएका युवालाई बजारसँग जोड्ने, उद्यम गर्न चाहनेलाई आवश्यक सहजीकरण गर्ने र स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने प्रणाली विकास गर्न सके युवाको विदेश पलायन न्यूनीकरण गर्न सकिने उनको विश्वास छ।
कठिन समयमा नेतृत्वको परीक्षा हुने दाबी
“नेतृत्वको परीक्षण कठिन समयमा हुन्छ,” पोखरेलले भनेका छन्, “अहिले निजी क्षेत्र र समग्र पोखरा उद्योग वाणिज्य संघ कठिन समयबाट गुज्रिरहेको छ। यस्तो अवस्थामा आफ्ना सदस्यहरूको बलियो खम्बा बन्नु नै नेतृत्वको प्रमुख धर्म हो।”संस्थाको मर्यादा र व्यवसायीको हितका लागि आफूले निरन्तर क्रियाशीलता देखाउँदै आएको उल्लेख गर्दै पोखरेलले त्यही निरन्तरता आफ्नो उम्मेदवारीको सबैभन्दा ठूलो आधार भएको बताएका छन्। “मेरो निष्ठा, धैर्यता र अनवरत प्रयासको उचित मूल्यांकन गर्दै यसपटक व्यवसायी साथीहरूले पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने।
पोखरेलको व्यवसायिक संलग्नता शंकर पेपर वक्र्स, मट्टिखान माउण्टेन भ्यू रिसोर्ट तथा ओमना टुर्स एण्ड ट्राभल्समा रहेको छ। अध्यक्ष पदका उम्मेदवार पोखरेलले व्यवसायीको अमूल्य मतसँगै रचनात्मक सहयोगको अपेक्षा गरेका छन्। उनको उम्मेदवारीले पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि निजी क्षेत्रको पुनर्संरचना, विमानस्थलको प्रभावकारी सञ्चालन, व्यवसायीको संरक्षण र युवा उद्यमशीलतालाई चुनावी बहसको केन्द्रमा ल्याएको छ।





