
पोखरा — ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आयोजना गरेको पाँचदिने राष्ट्रव्यापी बृहत् रक्तदान अभियान सम्पन्न भएको छ। पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा आयोजना गरिएको अभियानबाट विभिन्न स्थानमा गरी ८ हजार ६९४ पिन्ट रगत संकलन भएको आयोजकले जनाएको छ।
मानव सेवा, परोपकार र विश्व बन्धुत्वको भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले भदौ ५ गतेदेखि ९ गतेसम्म अर्थात् अगस्ट २१ देखि २५, २०२६ सम्म देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानमा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, युवा तथा स्वयंसेवकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। अभियानको शुभारम्भ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयको क्षेत्रीय कार्यालय पोखरा, फुलबारीमा गण्डकी प्रदेशका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालका अध्यक्ष एवं निर्देशक राजयोगिनी ब्रह्माकुमारी परनीता तथा नेपालका महासचिव ब्रह्माकुमार शैलेषराज बरालको पनि उपस्थिति रहेको थियो।
दादी प्रकाशमणिको पुण्य स्मृतिलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको अभियानले रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय सेवा भएको सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ। साथै अभियानमार्फत समाजमा आपसी सहयोग, करुणा, परोपकार र विश्व बन्धुत्वको भावना अभिवृद्धि गर्ने प्रयास गरिएको जनाइएको छ। अभियानका क्रममा दिनअनुसार भदौ ५ गते १ हजार ४१५ पिन्ट, भदौ ६ गते ३ हजार १ सय १८ पिन्ट, भदौ ७ गते १ हजार ८६६ पिन्ट, भदौ ८ गते ८७१ पिन्ट र भदौ ९ गते १ हजार ४३६ पिन्ट रगत संकलन भएको थियो। आयोजकका अनुसार गत वर्ष सञ्चालन गरिएको यस्तै अभियानमा ११ हजार ९१६ पिन्ट रगत संकलन भएको थियो। यस वर्ष संकलित रक्तको मात्रा गत वर्षको तुलनामा कम भए पनि पाँच दिनसम्म देशका विभिन्न स्थानमा एकैसाथ सञ्चालन गरिएको अभियानले रक्तदानप्रति जनचेतना र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकको दाबी छ।
अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने रक्तदाता, संघसंस्था, सामाजिक अभियन्ता, स्वयंसेवक, स्वास्थ्यकर्मी, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीहरूप्रति ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र नेपालले आभार व्यक्त गरेको छ। आयोजकले आगामी दिनमा पनि मानव सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।





