
दीननाथ बराल,
पोखरा ९, भदौं,
पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदौं २० र २१ गते महाधिवेशन हुने भएको छ । संघको अध्यक्ष पदमा दुई प्यानल सहित चार जनाले उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ । निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य, बलराम आचार्य र शोभा गौतम अध्यक्ष पदका लागि मैदानमा उत्र्रिनु भएको हो ।

चार उम्मेदवारमध्ये बलराम आचार्य र शोभा गौतमले पदाधिकारीसहितको प्यानल बनाएर चुनावी अभियान अघि बढाउदा उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेल भने अध्यक्ष पदमा खुला रूपमा प्रतिस्पर्धामा रहनु भएको छ । उम्मेदवारीमाथि दाबीविरोध तथा फिर्ताको प्रक्रिया बाँकी रहेकाले अन्तिम उम्मेदवारको सूची भने पछि सार्वजनिक हुने निर्वाचन समितिले पोखराक्लिकलाई जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्यले लामो समयदेखि संघमा रहेर हासिल गरेको अनुभवलाई आफ्नो प्रमुख आधार बनाउनु भएको छ । व्यवसायीका समस्या समाधानसँगै निजी क्षेत्र, सरकार र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै पोखराको आर्थिक विकासमा संघको भूमिका बढाउने उहाँको योजना छ ।
वाणिज्यतर्फका उपाध्यक्ष आचार्यले पनि संघमा लामो समय विभिन्न जिम्मेवारी सम्हालेको अनुभवलाई चुनावी आधार बनाउनु भएको छ । व्यवसायीका व्यावहारिक समस्या समाधान, पर्यटन प्रवद्र्धन र पोखराको आर्थिक गतिविधिलाई प्राथमिकतामा राखेर नेतृत्व गर्ने उहाँको प्रतिबद्धता छ ।

संघकी महासचिव शोभा गौतमले भने पहिलो महिला अध्यक्ष बन्ने लक्ष्यसहित उम्मेदवारी दिनु भएको छ । महिला नेतृत्व र समावेशितासँगै संस्थागत क्षमता अभिवृद्धि तथा व्यवसायीका दैनिक समस्या समाधानलाई आफ्नो मुख्य एजेन्डा बनाउनु भएको गौतमले पदाधिकारीसहितको टिम अघि सार्नु भएको हो । अर्जुन पोखरेल यसअघि पनि दुईपटक अध्यक्ष पदका प्रत्यासी हुनुहुन्थ्यो । दुवै निर्वाचनमा पराजित हुनु भएको पोखरेल यसपटक पुनः नेतृत्वका लागि चुनावी मैदानमा होमिनु भएको हो । उहाँले निजी क्षेत्रको संस्थागत सुदृढीकरण र व्यवसायीको हकहितलाई मुख्य मुद्दा बताउनु भएको छ ।

संघको अध्यक्ष पदसँगै पदाधिकारी र सदस्य पदमा समेत प्रतिस्पर्धा हुँदैछ । गौतम र आचार्य समूहबाट छुट्टाछुट्टै प्यानल बनेका छन् भने उपमहासचिव पदमा रामचन्द्र तिमिल्सिनाले स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । कार्यसमिति सदस्यतर्फ १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७३१ सदस्य छन्। चार अध्यक्षका उम्मेदवार चुनावी मैदानमा आएपछि यसपटकको निर्वाचनलाई संघको पछिल्लो समयकै चासोपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।

गौतम र आचार्यको प्यानलमा को–को ?
गौतम समूहबाट वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतमले उम्मेदवारी दिनु भएको छ भने महासचिवमा तारानाथ ढुंगाना, उपमहासचिवमा यादवप्रसाद पोखरेल र कोषाध्यक्षमा जीवनप्रकाश श्रेष्ठ चुनावी मैदानमा रहनु भएको छ । आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा ललितबहादुर कुँवर तथा वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठले उम्मेदवारी दिनु भएको छ भने महासचिवमा सुदीप प्रधानाङ्ग, उपमहासचिवमा प्रदीप राजभण्डारी र कोषाध्यक्षमा देवेन्द्र प्रजु उम्मेदवार बन्नु भएको हो । उपमहासचिव पदमा रामचन्द्र तिमिल्सिनाले भने स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सदस्यमा १३ जनाको उम्मेदवारी
संघको कार्यसमिति सदस्यतर्फ यसपटक पनि रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि सदस्य पदका आकांक्षीबीच छलफल गरी १० जनालाई साझा उम्मेदवारका रूपमा अघि बढाउने सहमति बने पनि अन्ततः १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ । सदस्य पदमा अमृत पोखरेल, कमलबहादुर सुनार, गोविन्दबहादुर केसी, दिलीपकुमार श्रेष्ठ, दुर्गा बराल, नवीन नापित, निर्मला चापागाईं, भानुभक्त अधिकारी, मनोहरि पौडेल, रामप्रसाद कँडेल, रामेश्वर अधिकारी, सूर्यराज घिमिरे र हरिप्रसाद अधिकारीले उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका संयोजक पूर्वअध्यक्ष दामु अधिकारीका अनुसार उम्मेदवारीमाथि दाबीविरोधका लागि मंगलबार दिउँसो १ बजेसम्मको समय तोकिएको छ । भदौ ११ गते अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ ।
पोखरा उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यवस्थित बनाउन पूर्वअध्यक्ष अधिकारीको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । संघमा हाल २ हजार ७३१ सदस्य रहेका छन् । २०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा पहिलो नेतृत्व चयन भएको पोखरा उद्योग वाणिज्य संघको यसपटकको निर्वाचनमा चार जना अध्यक्षका उम्मेदवार मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ ।




