
पोखरा,
नेपालीहरूका प्रमुख चाडपर्व नजिकिँदै गर्दा पोखरा महानगरपालिका वडा नं ३, नदीपुरस्थित संस्कृति समूहलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले संस्कृति समूहलाई रु २५ हजार बराबरका विभिन्न वाद्यवादन सामग्री हस्तान्तरण गर्नुभएको हो।

चाडपर्वका अवसरमा हुने सांस्कृतिक गतिविधिलाई थप प्रभावकारी बनाउन तथा स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको अध्यक्ष मर्सानीको भनाई रहेको छ । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष मर्सानीले पोखरा प्राकृतिक सौन्दर्यसँगै कला, संस्कृति र परम्पराले समेत समृद्ध शहर भएकाले यहाँका सांस्कृतिक समूहको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउनुभयो। स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै उनीहरूको सिर्जनशीलता र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिन आफूले सानो भए पनि सहयोग गरेको उहाँको भनाइ थियो।
“पोखराको पहिचान प्राकृतिक सम्पदासँगै यहाँको मौलिक कला, संस्कृति र परम्परासँग पनि जोडिएको छ। सांस्कृतिक समूह र कलाकारलाई प्रोत्साहन गर्न सके मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुग्छ,” अध्यक्ष मर्सानीले बताउनुभयो। उहाँले आगामी दिनमा पनि स्थानीय कला तथा संस्कृतिको संरक्षण, कलाकारको प्रोत्साहन र सांस्कृतिक गतिविधिको प्रवर्द्धनमा आफ्नो तर्फबाट निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वाद्यवादन सामग्री प्राप्त भएपछि संस्कृति समूहले चाडपर्व तथा विभिन्न सांस्कृतिक कार्यक्रममा समूहको प्रस्तुति थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।





