युवाको आवाजदेखि संस्थागत सुदृढीकरणसम्म पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा सौगात थापा

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशनमा उद्योग उपाध्यक्ष पदका लागि युवा व्यवसायी सौगात थापाले उम्मेदवारी दिएका छन्। भाद्र २० र २१ गते हुने महाधिवेशनलाई लक्षित गर्दै थापाले आफू स्वयं युवा व्यवसायी भएकाले नयाँ पुस्ताले उद्योग तथा व्यवसाय क्षेत्रमा भोगिरहेका चुनौती, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझेको बताएका छन्।

अंशुवरा ग्रुपका प्रबन्ध निर्देशक थापा पोखराको व्यवसायिक क्षेत्रमा सक्रिय युवा व्यवसायी हुन्। उनी बैगचा वेलनेस रिसोर्ट प्रालि सञ्चालन तथा व्यवस्थापनसँगै पोखरा ट्रेडमलका प्रबन्ध निर्देशकका रूपमा समेत व्यवसायिक क्षेत्रमा क्रियाशील छन्। विभिन्न प्रकृतिका व्यवसायको व्यवस्थापनमा प्रत्यक्ष संलग्न रहँदै आएका थापाले व्यवसाय सञ्चालनका व्यवहारिक चुनौतीलाई नजिकबाट अनुभव गरेको बताउँदै यही अनुभवलाई उद्योग वाणिज्य संघको नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्। थापाले आफ्नो उम्मेदवारीको प्रमुख आधार नै युवा व्यवसायीको प्रतिनिधित्व रहेको बताएका छन्। उनका अनुसार युवालाई व्यवसायमा आउन प्रोत्साहित गर्ने मात्र नभई उनीहरूलाई संघको नीति निर्माण र नेतृत्व प्रक्रियामा समेत अर्थपूर्ण रूपमा जोड्न आवश्यक छ। “म पनि युवा व्यवसायी हुँ। व्यवसाय सुरु गर्ने, विस्तार गर्ने र नयाँ क्षेत्रमा लगानी गर्ने क्रममा युवाले भोग्ने चुनौतीलाई मैले पनि नजिकबाट अनुभव गरेको छु। त्यसैले युवाका कुरा सुन्ने मात्र होइन, ती आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पु¥याउने मेरो प्रतिबद्धता हो,” थापाले भने। उनका अनुसार अहिलेको युवा पुस्ता रोजगारी खोज्ने मात्र नभई उद्यम सिर्जना गर्ने, रोजगारी दिने र नयाँ व्यवसायिक सम्भावना खोज्ने पुस्ता हो। त्यसैले युवाको क्षमता र ऊर्जालाई उद्योग तथा व्यवसायको विकाससँग जोड्न सके पोखराको अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिने उनको धारणा छ। थापाले युवा पुस्ताको नेतृत्वलाई अग्रज व्यवसायीको अनुभवको विकल्पका रूपमा नभई त्यसको निरन्तरताका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। उनले पोखरा उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउन अग्रज नेतृत्वले गरेको योगदानलाई सम्मान गर्दै उहाँहरूले स्थापित गरेका सकारात्मक अभ्यासलाई निरन्तरता दिने र नयाँ पुस्ताको सोच तथा प्रविधिलाई त्यससँग जोड्ने बताएका छन्।

“अग्रजको अनुभव र युवाको ऊर्जा एकअर्काका प्रतिस्पर्धी होइनन्, परिपूरक हुन्। अग्रजको अनुभवबाट सिक्दै युवाको नयाँ सोच र प्रविधिलाई जोड्न सके संस्थालाई अझ बलियो बनाउन सकिन्छ,” उनको भनाइ छ। थापाले नयाँ पुस्तालाई व्यवसायमा प्रवेश गर्न सहज वातावरण निर्माण गर्न उद्योग वाणिज्य संघले थप सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्। युवा उद्यमीका लागि व्यवसायिक परामर्श, तालिम, नेटवर्किङ, लगानीको अवसर, डिजिटल व्यवसाय तथा बजार विस्तारका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको धारणा छ। पोखराका युवा व्यवसायीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने वातावरण बनाउन निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, सरकारी निकाय र शैक्षिक संस्थासँग सहकार्य गर्नुपर्ने उनले बताए । जसका लागि आफु सक्षम रहेको उनको भनाई छ । उनले संघमा आबद्ध युवा व्यवसायीको समस्या र सुझावलाई नियमित रूपमा सुन्ने तथा त्यसलाई नीतिगत तहमा पु¥याउने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याएका छन्।

थापाले आफ्नो उम्मेदवारीलाई युवाको प्रतिनिधित्वमा मात्र सीमित नराखी संस्थागत सुदृढीकरणलाई समेत प्रमुख एजेन्डा बनाएका छन्। सदस्यका गुनासा तथा समस्याको प्रभावकारी व्यवस्थापन, संघका गतिविधिमा पारदर्शिता, प्रविधिमैत्री सेवा, सदस्यसँग नियमित संवाद र सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वयलाई उनले प्राथमिकतामा राखेका छन्। उनका अनुसार बदलिँदो आर्थिक तथा व्यवसायिक वातावरणमा संघले पनि आफ्नो कार्यशैली परिवर्तन गर्न आवश्यक छ । डिजिटल प्रविधिको प्रयोगमार्फत सदस्यलाई सूचना तथा सेवा सहज रूपमा उपलब्ध गराउने र संघको कामलाई थप पारदर्शी तथा उत्तरदायी बनाउने उनको लक्ष्य छ।

अंशुवरा ग्रुप, बैगचा रिसोर्ट एण्ड स्पा तथा पोखरा ट्रेडमलसँग जोडिएर व्यवसायिक व्यवस्थापनमा काम गरिरहेका थापाले आफ्नो व्यावसायिक अनुभवलाई संघको नेतृत्वमा उपयोग गर्ने बताएका छन्। उनका अनुसार उद्योग, व्यापार, पर्यटन तथा सेवा क्षेत्रका व्यवसायीका समस्या फरक भए पनि उनीहरूको साझा उद्देश्य व्यवसायिक वातावरण सहज बनाउनु हो। त्यसैले संघले सबै क्षेत्र र तहका व्यवसायीलाई समेटेर साझा आवाजका रूपमा काम गर्नुपर्ने उनको धारणा छ। “व्यवसायीका समस्या नजिकबाट बुझेर समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी रूपमा पहल गर्नु नै संघको मुख्य दायित्व हो। म युवा भएकाले युवाको आवाज बोक्छु, तर मेरो एजेन्डा सबै व्यवसायीको साझा हितमा केन्द्रित छ,” थापाले भने।

आफ्नो उम्मेदवारीलाई थापाले पद प्राप्तिको भन्दा पनि काम गर्ने अवसरका रूपमा प्रस्तुत गरेका छन्। आफू युवा पुस्ताबाट आएको भए पनि संघको संस्थागत निरन्तरता र अग्रजको योगदानलाई सम्मान गर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ। “पदका लागि होइन, कामका लागि मेरो उम्मेदवारी हो। आफू पनि युवा भएकाले युवाको भावना र समस्या बुझ्छु, व्यवसायी भएकाले व्यवसायका चुनौती बुझ्छु र अग्रजको योगदानलाई सम्मान गर्दै उहाँहरूको अनुभवबाट सिकेर संस्थालाई अघि बढाउन चाहन्छु,” थापाले भने। उद्योग, व्यवसाय र युवाको आवाजलाई अझ बलियो बनाउँदै अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर पोखरा उद्योग वाणिज्य संघलाई थप सुदृढ, समावेशी, पारदर्शी र व्यवसायीमैत्री संस्था बनाउने लक्ष्यसहित थापाले उद्योग उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी अघि सारेका छन्।