बाढीले बगाएको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीको १० लाखको सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८३ मा प्रकाशित


पोखरा,

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले घरबारसँगै भान्साका सामानसमेत गुमाएका परिवारको चुलो फेरि बाल्न पोखराका कवाडी व्यवसायीहरू जुटेका छन्। व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरका भाँडाकुँडा संकलन गरी बाढी प्रभावित १ सय ६५ परिवारका लागि राहत सहयोग गरेका हुन्।

युवा व्यवसायी सुजन गुरुङको विशेष पहल र आह्वानमा पोखराका कवाडी व्यवसायीहरूबाट संकलित रकमबाट आवश्यक भाँडाकुँडा खरिद गरी राहत सामग्री तयार गरिएको हो। संकलित सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हालै हस्तान्तरण गरिएको छ।राहत प्याकेजमा १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान कराई, डाडु–पन्यूँ तथा ६ सय–६ सय थान थाल, कचौरा, गिलास र चम्चा रहेका छन्। यी सामग्री १ सय ६५ परिवारलाई पुग्ने गरी व्यवस्थापन गरिएको सहयोग अभियानका संयोजक गुरुङले जानकारी दिनुभयो। राहत सामग्री हस्तान्तरण गर्दै गुरुङले बाढीले घरसँगै खाना पकाउने आधारभूत सामग्रीसमेत बगाएपछि प्रभावित परिवारलाई दैनिक जीवनमा फर्किन सहज होस् भन्ने उद्देश्यले अभियान थालिएको बताउनुभयो। “बाढीले धेरै परिवारको घर मात्रै होइन, भान्सामा रहेका आवश्यक सामानसमेत बगाएको छ। प्रभावित परिवारको चुलो फेरि बलोस् भन्ने सानो उद्देश्यले हामीले यो अभियान अघि बढाएका हौँ,” उहाँले भन्नुभयो।

गुरुङका अनुसार विपद्का बेला पीडामा रहेका नागरिकलाई सहयोग गर्नु हरेक नागरिकको मानवीय जिम्मेवारी हो। आफूले कवाडी व्यवसायमा आबद्ध साथीहरूलाई एकजुट गराएर क्षमताअनुसार सहयोग जुटाउने प्रयास गरेको उहाँले बताउनुभयो। राहत सामग्री बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कवाडी व्यवसायीहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको प्रशंसा गर्नुभयो। विपद् कुनै एक भूगोल वा समुदायको मात्र समस्या नभई सबैको साझा पीडा भएकाले पोखराका व्यवसायीहरूले प्रभावित नागरिकका लागि गरेको सहयोग अनुकरणीय रहेको उहाँको भनाइ थियो।

महानगरपालिकाले प्राप्त भाँडाकुँडालाई परिवारअनुसार प्याकेज तयार गरी १ सय ६५ घरधुरीमा वितरण गर्ने जनाएको छ। राहत सामग्री बोकेका तीनवटा गाडी प्रभावित क्षेत्रतर्फ पठाइसकिएको महानगरपालिकाले जनाएको छ। भाँडाकुँडामा मात्रै सीमित नरहने गरी कवाडी व्यवसायीहरूले प्रभावित परिवारका लागि लत्ताकपडा, सिरक र डसना समेत संकलन गरी सहयोग गर्ने तयारी गरेका छन्। बाढीपछि आधारभूत आवश्यकतासमेत गुमाएका परिवारलाई लक्षित गरी गरिएको यो सहयोगले तत्कालका लागि खाना पकाउने र दैनिक जीवन सञ्चालनमा महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।