व्यवसायीको घरदैलोमा शोभा गौतम प्यानल, ‘सुदृढ संघ, सक्षम नेतृत्व र समृद्ध व्यवसाय’ को प्रतिबद्धता

-


     पोखरा क्लिक     
     भाद्र १० गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचनको माहोल तातेको छ । आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा विभिन्न पदका उम्मेदवारहरू व्यवसायी तथा उद्योगीको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गर्दै मत माग्न व्यस्त छन् ।

यसै क्रममा अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलले घरदैलो अभियानलाई तीव्रता दिएको छ । गौतमको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम सुवेदी, उद्योग उपाध्यक्षका उम्मेदवार सौगात थापा, वाणिज्य उपाध्यक्षका उम्मेदवार भीम गौतम, महासचिवका उम्मेदवार तारानाथ ढुंगाना, कोषाध्यक्षका उम्मेदवार जिवनप्रकाश श्रेष्ठ र उपमहासचिवका उम्मेदवार यादवप्रसाद पोखरेलसहितको टोली उद्योगी–व्यवसायीका दैलोमा पुगिरहेको छ । प्यानलले चुनावी प्रचारलाई केवल मत माग्ने अभियानका रूपमा मात्रै नभई व्यवसायीका वास्तविक समस्या प्रत्यक्ष सुन्ने र ती समस्या समाधानका लागि आगामी नेतृत्वले के गर्नुपर्छ भन्ने विषय बुझ्ने अवसरका रूपमा अघि बढाएको जनाएको छ ।

घरदैलोका क्रममा उद्योगी तथा व्यवसायीहरूले बजार व्यवस्थापन, व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ, लगानीको वातावरण, सरकारी नीति तथा कर प्रणाली, पूर्वाधार, पर्यटन तथा व्यापार प्रवद्र्धनलगायतका विषयमा आफ्ना गुनासा र अपेक्षा राख्ने गरेका छन् । व्यवसायीका समस्या कागजमा टिपोट गरेर मात्रै नछाड्ने, सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता गौतम प्यानलले व्यक्त गरेको छ । अध्यक्ष पदकी उम्मेदवार गौतमले व्यवसायीको घरदैलोमा पुग्दा आफू र आफ्नो टिमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको बताइन् । उनका अनुसार उद्योगी–व्यवसायीले नेतृत्वसँग धेरै अपेक्षा राखेका छन् र ती अपेक्षा पूरा गर्न संघको नेतृत्व थप सक्रिय, जवाफदेही र परिणाममुखी हुन आवश्यक छ ।

“वर्तमान अवस्थामा व्यवसायीका थुप्रै समस्या रहेछन् । विशेषगरी बजारीकरणको समस्यालाई निराकरण गर्ने गरी हाम्रो टिम लाग्नेछ । कुरा मात्रै होइन, काम गरेर देखाउनका लागि नै हाम्रो टीम अगाडि बढेको हो ।” गौतमले भनिन् । उनले पोखरा उद्योग वाणिज्य संघको गरिमा र साखलाई थप उचाइमा पु¥याउँदै उद्योगी–व्यवसायीमैत्री वातावरण निर्माण गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताइन् । व्यवसायीका आवाजलाई सम्बन्धित सरकारी तथा गैरसरकारी निकायसम्म प्रभावकारी रूपमा पु¥याउने र निजी क्षेत्रको पक्षमा नीतिगत पैरवी गर्ने विषयलाई पनि आफ्नो प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

लामो इतिहास बोकेको संस्थाको नेतृत्वमा महिलालाई विश्वास गरेर जिम्मेवारी दिने वातावरण बन्नेमा आफू विश्वस्त रहेको उनले बताइन् । गौतम प्यानलले संघको संस्थागत साख अभिवृद्धि, व्यवसायीका समस्या समाधानमा प्रभावकारी पहल, उद्योग तथा व्यापारको प्रवद्र्धन, बजार विस्तार, लगानीमैत्री वातावरण निर्माण र व्यवसायीबीचको एकतालाई आफ्नो अभियानका महत्वपूर्ण आधार बनाएको छ । पोखरा देशकै प्रमुख व्यापारिक तथा पर्यटन केन्द्र भएकाले यहाँको उद्योग–व्यवसाय क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको गौतम प्यानलको निष्कर्ष छ । पोखरामा आउने पर्यटकको संख्या बढाउने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, व्यवसायीलाई नयाँ बजारसँग जोड्ने तथा उद्योग र व्यापार क्षेत्रलाई प्रतिस्पर्धी बनाउने विषयमा संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने प्यानलको धारणा छ ।

“सुदृढ संघ, सक्षम नेतृत्व, समृद्ध व्यवसाय र समुन्नत पोखरा” भन्ने नारासहित चुनावी मैदानमा रहेको गौतम प्यानलले संघको नेतृत्वलाई थप गतिशील र व्यवसायीको विश्वास जित्ने संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य अघि सारेको छ । महाधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियानले पनि गति लिएको छ । व्यवसायीका समस्या, उनीहरूका अपेक्षा र उम्मेदवारका प्रतिबद्धताबीचको तुलना गर्दै मतदाताहरूले आगामी नेतृत्व चयन गर्ने तयारी गरिरहेका छन् । यही अवस्थामा गौतम प्यानलले भने व्यवसायीको घरमै पुगेर समस्या सुन्ने र समाधानको प्रतिबद्धता जनाउने रणनीतिलाई आफ्नो चुनावी अभियानको मुख्य आधार बनाएको छ । अब भदौ २० र २१ गते हुने ३६औँ महाधिवेशनले पोखरा उद्योग वाणिज्य संघलाई कस्तो नेतृत्व दिने भन्ने निर्णय गर्नेछ । महिला नेतृत्वसहितको नयाँ टिमलाई अवसर दिने कि अनुभवी नेतृत्वलाई निरन्तरता दिने भन्ने बहससँगै यस पटकको निर्वाचन पोखराका उद्योगी–व्यवसायीका लागि विशेष चासोको विषय बनेको छ ।