
दीननाथ बराल,
पोखरा १२, भदौं,
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, खोजी, उपचार तथा राहतका लागि गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड सहयोग गर्ने भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपुरलगायतका क्षेत्रमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताउनु भयो ।
मुख्यमन्त्री पाण्डेले शुक्रबार एक अपिल जारी गर्दै बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइते र प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । रसुवामा आएको बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाका साथै स्वदेश तथा विदेशबाट धार्मिक तथा अन्य यात्राका लागि रसुवा र नुवाकोट पुगेका नागरिक समेत प्रभावित भएको जानकारी प्राप्त भइरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभएको छ । धार्मिक यात्राका क्रममा रसुवा पुगेका केही नागरिक सम्पर्कविहीन रहेको खबरले थप चिन्ता बढाएको उहाँको भनाइ छ ।
सम्पर्कविहीन नागरिकको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिन र भेटिएका शवको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभएको छ । खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन गण्डकी प्रदेश सरकारले आफ्नो तर्फबाट आवश्यक समन्वय गरिरहेको उहाँले बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले जोखिममा रहेका नागरिकको उद्धार, घाइतेको उपचार तथा प्रभावित र आश्रयविहीनका लागि सुरक्षित आश्रय, खानपान र आवश्यक राहतको व्यवस्था गर्न सम्बन्धित सबै निकायलाई प्रभावकारी रूपमा परिचालित हुन आग्रह गर्नुभएको छ । “विपद्मा परेका नागरिकको जीवनरक्षा हाम्रो पहिलो प्राथमिकता हो,” मुख्यमन्त्री पाण्डेले भन्नुभएको छ, “संकटको यस घडीमा पीडितको साथमा उभिनु र प्रभावित परिवारलाई सहयोग गर्नु हामी सबैको साझा मानवीय दायित्व हो ।”
उहाँले बाढीबाट सिर्जित विपद् कुनै एक जिल्ला वा क्षेत्रको मात्र समस्या नभई सम्पूर्ण नेपालीको साझा पीडा र चुनौती भएको उल्लेख गर्दै विपद् प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यमा सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभएको छ । गण्डकी प्रदेशभित्रका उद्योगी–व्यवसायी, राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा आम नागरिकलाई आफ्नो ठाउँबाट राहत तथा सहयोगका कार्यमा सक्रिय सहभागिता जनाउन मुख्यमन्त्री पाण्डेले अपिल गर्नुभएको छ ।




