पोखरामा १ सय २ शव, दुई जनाको पहिचान, एकको आफन्तले बुझे

-


     पोखरा क्लिक     
     भाद्र १२ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, १२ भदौ,

रसुवा तथा भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएका १ सय २ जनाको शव पोखरामा हाल व्यबस्थापन तथा पहिचान प्रक्रिया अघि बढाइएको छ । पोखरा ल्याइएका शवमध्ये हालसम्म २ जनाको मात्र पहिचान खुलेको छ भने एक जनाको उहाँका आफन्तलाई बुझाइृएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

भक्तपुर–९ का ३६ वर्षीय सत्यसुन्दर प्रजापतीको पहिचान खुलेसंगै उहाँका आफन्तलाई शव बुझाईएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । उहाँका अनुसार चितवनका यादव भण्डारीको समेत शव पहिचान भएको छ । अब प्रकृया मिलायर उहाँका आफन्तलाई उक्त शव बुझाउने उहाँले जनाउनु भयो । अन्य शवको पहिचानका लागि प्रहरीले वैज्ञानिक विधिबाट प्रक्रिया अघि बढाएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले बताउनुभयो । प्रहरीले पोखरा ल्याइएका शवलाई व्यवस्थित रूपमा धोइपखाली गरी हुलियासहित आवश्यक विवरण संकलन गर्नुका साथै फोटो तथा भिडियोसमेत अभिलेख राखिरहेको एसपी कार्कीले बताउनुभयो । शवको फिङ्गरप्रिन्ट लिएर पहिचान तथा सनाखत गर्ने प्रक्रिया अघि बढिरहेको उहाँको भनाइ छ ।

कास्की प्रहरीले पहिलो चरणमा पोखरा ल्याइएका ९ वटा शवको पोस्टमार्टमसमेत सम्पन्न गरेको जनाएको छ । शवको पहिचान खुलेपछि सम्बन्धित परिवार तथा आफन्तलाई बुझाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पोखरा ल्याइएका शवमध्ये पूर्वनवलपरासीबाट ४१, गोरखाबाट ११, तनहुँबाट १४ र धादिङबाट २७ जना रहेको एसपी कार्कीले जानकारी दिनुभयो । अन्य शवको स्रोत तथा विवरणसमेत खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । पोखरा क्षेत्रमा अहिलेको अबस्थामा शव ब्यबस्थापन गर्न सक्ने कुनै ठाँउ नभएको बताउदै कार्कीले साना वाल बच्चाका शव एकै स्थानमा मिलायर राखेर हालसम्म पोखरा आएका शव व्यबस्थापन गरिएको जनाउनु भयो ।