
पोखरा,
पोखरा महानगरपालिका–१७ हर्क चोकमा सडक नालीबाट आएको भलले बगाउँदा आमा–छोरी गम्भीर घाइते भएका छन्। शुक्रबार अपराह्न करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटर हर्क चोकमा साइड लगाएर झर्ने क्रममा सडक नालीबाट आएको पानीको तीव्र बहावले पोखरा–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षीया छोरी रानीका दाहाललाई भल पानीले बगाएको थियो ।
उक्त घटनाको सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। स्थानीयवासीको समेत सहयोगमा खोजी तथा उद्धार गर्ने क्रममा आमा–छोरीलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट करिब ४ः२३ बजे उद्धार गरिएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीले जनाएको छ।उद्धारपछि दुवै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । प्रहरीले उनीहरूको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको जनाएको छ।
घाइते सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहाल उक्त स्कुटर चालक सामान्य घाइते अबस्थामा हाल अस्पतालमै रहनु भएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बर्षादको समयमा आएको ठुलो भल पानीलाई समयमै नालाबाट पानी व्यबस्थापन गर्न नसक्दा पोखरामा पटक पटक मान्छे बगाउने घटना दोहोरिएको छ ।




