
पोखरा,
पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६ अौ अधिवेशनमा स्वतन्त्ररूपमा कार्यसमिति सदस्य पदमा उमेदवार रहेका ८ उमेदवारहरुलाई व्यवसायी मतदाताहरूले स्वतन्त्ररूपमा कुनै अध्यक्षको प्यानलमा नबसी उमेदवार बनेकोमा धन्यवाद दिएका छन् ।

पोखराको महेन्द्रपुल,पन्थी गल्ली,पराजुली मार्ग,ट्रेडमल,बुद्व विशाल बजार लगाएतका ठाँउहरूमा गरिएको घरदैलो कार्यक्रममा सदस्यका ८ उम्मेदवारहरूले व्यावसायिक हकहितको संरक्षण, कर प्रणालीमा सुधार, बजार चलायमान बनाउने जस्ता प्रतिबद्धतासहित चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन्।
घरदैलोमा सदस्यका उमेदवारहरूलाई व्यवसायीहरूले वर्तमान आर्थिक मन्दी, चर्को बैंक ब्याजदर, र उपभोक्ता अभावका कारण व्यवसायीहरूले भोग्नुपरेका समस्याहरू प्रत्यक्ष रूपमा सुनाएका थिए । निर्वाचनमा व्यावसायिक एजेन्डाभन्दा पनि राजनीतिक प्यानलगत प्रभाव बढी देखिने गरेको व्यवसायीहरूको गुनासो छ, जसले गर्दा मतदाताहरूले दलीय आबद्धताभन्दा व्यावसायिक समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्वलाई रोज्नुपर्नेमा जोड दिएका थिए । घरदैलो कार्यक्रममा सदस्यका उमेदवारहरू अमृत पोखरेल,सुर्यराज घिमिरे (सुरेश) दुर्गा बराल,नविन नापित,मनोहरि पौडेल,राम कँडेल, कमल बहादुर सुनार,भानुभक्त अधिकारी सहभागी भएका थिए ।





