पोखरामा २७औँ जिल्ला स्तरीय तायास्मचा नृत्य प्रतियोगिता हुँदै

-


     पोखरा क्लिक     
     भाद्र १२ गते २०८३ मा प्रकाशित


पोखरा,

नेवारी समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तामाझ यसको हस्तान्तरण गर्ने उद्देश्यले पोखरामा २७औँ जिल्ला स्तरीय तायास्मचा नृत्य प्रतियोगिता २०८३ आयोजना हुने भएको छ। नेवाः खलः कास्कीको आह्वान तथा लामाचौर नेवा खल गुठी कास्कीको आयोजनामा प्रतियोगिता हुन लागेको हो। ‘परम्पराको सम्मानस्, सभ्य समाजको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन पोखरा–१६, केआई सिंह पुलस्थित दीप गार्डेन रेस्टुरेन्टमा पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो।

कार्यक्रममा बोल्दै नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरामा नेवारी कला, संस्कृति र परम्परालाई निरन्तरता दिन ताया माचा नृत्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। उहाँले तायास्मचा नृत्य केवल मनोरञ्जनको माध्यम नभई समुदायको मौलिक पहिचान र सांस्कृतिक विरासतसँग जोडिएको कला भएको उल्लेख गर्नुभयो।

तायास्मचा नृत्यका माध्यमबाट स्थानीय समुदायमा सांस्कृतिक जागरणसँगै उत्साह र एकताको भावना समेत बढ्दै गएको उहाँको भनाइ थियो। यस्ता प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानप्रति आकर्षित गराउँदै संरक्षणमा सक्रिय बनाउन सहयोग पुग्ने अध्यक्ष पालिखेले बताउनुभयो। पत्रकार भेटघाट कार्यक्रममा लामाचौर नेवा खल कास्कीका अध्यक्ष भीमबहादुर श्रेष्ठ लगायत अतिथिहरूले तायास्मचा नृत्यको निरन्तरता र प्रवर्द्धनका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो।

प्रतियोगितालाई व्यवस्थित, भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिता २०८३ मूल समारोह समितिका संयोजक सुशिल कुमार श्रेष्ठको संयोजकत्वमा विभिन्न तयारीलाई तीव्रता दिइएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको थियो। आयोजकका अनुसार प्रतियोगितामार्फत नेवारी समुदायको सांस्कृतिक मौलिकता संरक्षण गर्नुका साथै ताया माचा नृत्यलाई भावी पुस्तासम्म जीवन्त राख्ने प्रयास गरिनेछ।



This will close in 20 seconds