दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न कास्कीका दुग्ध किसानको माग (भिडियो सहित), मंसिर १६ भित्र माग पूरा नभए गाई,भैसी, गोबर सहित सरकारीमा धर्ना दिने चेतावनी

-


     पोखरा क्लिक     
     मंसिर १० गते २०८३ मा प्रकाशित


‎‎दीननाथ बराल,
‎पोखरा,१० मंसिर,
‎
‎
‎दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गए पनि सोहीअनुसार दूधको मूल्य समायोजन हुन नसकेको भन्दै कास्कीका दुग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर कम्तीमा ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। ‎सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दूधको मूल्य भौगोलिक अवस्था र वास्तविक उत्पादन लागतका आधारमा वैज्ञानिक तथा न्यायोचित ढंगले निर्धारण गर्न आज (बिहिबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

‎ संघले केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले अघि सारेको मागप्रति ऐक्यबद्धता जनाउँदै किसानको श्रम, लगानी र उत्पादन लागतको उचित मूल्य सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ। ‎आफूहरूको माग यही मङ्सिर १६ गतेसम्म पूरा नभए आफूहरूले पालन गर्दै आइरहेका गाईभैँसी नै लिएर सम्बन्धित सरकारी निकायका कार्यालय परिसरमै धर्ना दिने सङ्घका अध्यक्ष नवराज बरालले चेतावनी दिनुभएको छ। विगत तीन वर्षदेखि दूधको मूल्यमा मूल्य समायोजन हुन नसक्दा किसानहरू विस्थापित भएको समेत उहाँले गुनासो गर्नुभयो। कास्कीमा दैनिक जसो ६० देखि ७० हजार लिटर दूध खपत हुने गरेको उहाँले उल्लेख गर्नुभयो। केही समय अघि कास्कीमा ८० देखि १ लाख लिटर दैनिक दुध उत्पादन हुने थियो।
‎
‎संघका अनुसार कास्की जिल्लामा मात्रै करिब ११ हजार ५०० घरपरिवार दुग्ध उत्पादन व्यवसायमा संलग्न छन्। सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघअन्तर्गत आबद्ध ४२ वटा सहकारी संस्थामा करिब पाँच हजार ५०० किसान परिवार आबद्ध छन् भने सहकारीमा आबद्ध नभई निजी फार्ममार्फत दूध बिक्री गर्ने करिब छ हजार किसान परिवार रहेका छन्। ‎दूधको उचित मूल्य नपाउँदा किसान पशुपालन व्यवसायबाट पलायन हुने क्रम बढिरहेको संघले जनाएको छ। किसान व्यवसायबाट विस्थापित हुँदै गए दूध उत्पादन घट्ने, ग्रामीण क्षेत्रमा रोजगारी गुम्ने, स्थानीय अर्थतन्त्र कमजोर हुने र मुलुकको दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यसमेत प्रभावित हुने संघको चिन्ता छ।
‎
‎संघले दूधको मूल्य मनोमानी रूपमा बढाउन नभई वास्तविक उत्पादन लागत, भौगोलिक अवस्था, पशु आहार, औषधोपचार, श्रम, ढुवानी तथा किसानको लगानीलाई मूल्यांकन गरी न्यायोचित मूल्य कायम गर्नुपर्ने स्पष्ट पारेको छ। ‎त्यसैगरी दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी हुने व्यवस्था मिलाउन, पशु स्वास्थ्य सेवा प्रभावकारी बनाउन, नियमित खोप तथा औषधोपचारको व्यवस्था गर्न र पशु आहारमा सहुलियत उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ। पशुपालन व्यवसायलाई सुरक्षित र दिगो बनाउन पशु बीमा तथा रोग नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने संघको माग छ।