दशौं राष्ट्रिय खेलकुदमा प्रतिभाका २२ खेलाडी

-


     पोखरा क्लिक     
     मंसिर ९ गते २०८३ मा प्रकाशित


पोखरा, मंसिर ९,

दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा सहभागी हुने भएका छन् । कर्णाली प्रदेशमा पहिलोपटक दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको छ । राष्ट्रिय खेलकुदको महाकुम्भका रुपमा यो प्रतियोगितालाई हेरिएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंशालामा हुनेछ ।

तर मुख्य खेल भने मंसिर ८ गतेदेखि नै सुरु हुनेछन् । मंसिर २७ गते सोही रंगशालामा समापन समारोह आयोजना गरिने छ ।
प्रतियोगिताका सहभागि विद्यालयका विद्यार्थीले ह्यान्डबल, बास्केटबल, लन टेनिस, हक्की, चेस, टेबल टेनिस र महिला क्रिकेटलगायतका खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । सापकोटाका अनुसार लन टेनिसमा दर्शिल श्रेष्ठ, हक्कीतर्फ सञ्जु थापा, चेसमा दिलासा थापा, ब्वाइज बास्केटबलमा ओमकार रकाल, टेबल टेनिसमा दीप निशान शाही तथा महिला क्रिकेटमा सेरिना थापाले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी, गल्र्स ह्यान्डबलतर्फ कुसुम बानियाँ, स्वेच्छा थापा, रोशनी पुन, सोफिया गुरुङ र कञ्चन राना मगर छनोट भएका छन्। गल्र्स बास्केटबलतर्फ स्वेच्छा पुन, क्यारोल श्रेष्ठ, एलिशा पुर्जा, जेनिशा पाण्डे, प्रेमकुमारी विक, नबिना गुरुङ, नन्दिता गुरुङ, श्रेया गुरुङ, अंशु थापा, युबिना श्रेष्ठ र कुसुम गुरुङले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

राष्ट्रियस्तरको प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूको सहभागिताले उनीहरुको खेल प्रतिभा प्रस्फुटन हुनुका साथै आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावनाको विकासमा योगदान पुग्ने विद्यालयले विश्वास लिएको प्राचार्य सापकोटाले बताए । यसबाट विद्यालयसँगै गण्डकी प्रदेशको गौरवसमेत बढ्ने अपेक्षा गरेको उनले बताए । प्रतिभा माध्यमिक विद्यालय परिवारले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी विद्यार्थीलाई उत्कृष्ट प्रदर्शन र सफलताको शुभकामना व्यक्त गर्दै खेल भावना कायम राखेर प्रदेश तथा विद्यालयको प्रतिष्ठा उच्च बनाउने विश्वास व्यक्त गरेको छ । ‘प्रदेशको नामलाई मात्र नभई देशकै पहिचान बदल्न विद्यार्थीको भूमिका रहनेछ,’ प्राचार्य सापकोटाले भने ।