ज्येष्ठ नागरिक सुविधाअनुसार टोपबहादुर रायमाझी कारागारमुक्त

-


     पोखरा क्लिक     
     कार्तिक २६ गते २०८३ मा प्रकाशित


काठमाडौं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कैद छुट सुविधाअन्तर्गत रायमाझीलाई रिहा गरिएको हो। उनलाई बिहीबार बिहान श्रीमती तथा परिवारका सदस्यहरूको जिम्मा लगाएर कारागारबाट बाहिर पठाइएको कारागार स्रोतले जनाएको छ। ज्येष्ठ नागरिक भएको आधारमा कैद सजायमा छुट पाउनुपर्ने माग गर्दै रायमाझीले अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइपछि अदालतले प्रचलित कानुनी व्यवस्थाअनुसार कैद छुट हुने गरी संशोधित कैदीपुर्जी पठाएको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले कारागार प्रशासनलाई आवश्यक जानकारी गराएको थियो।

कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले तोकिएको कैद सजायमा २५ प्रतिशतसम्म छुट पाउने प्रावधान छ। विभिन्न कसुरमा तोकिएका सजाय एकीकृत गर्दा रायमाझीले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना भुक्तान गर्नुपर्ने फैसला भएको थियो। ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा अदालतबाट कैद छुटको प्रक्रिया पूरा भएपछि उनी कारागारमुक्त भएका हुन्।