
पोखरा २४, कार्तिक
नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीप र दक्षतासहित स्वदेश तथा विदेशमा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले पोखरामा सञ्चालित सल्युट गोर्खा ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ। गोर्खा गार्ड सेक्युरिटी सर्भिसेस प्रालिले पोखरामा आयोजना गरेको पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेसँगै सेन्ट्रल युरोपियन बडीगार्ड एकेडेमी (सीईबीए) हंगेरीले संस्थालाई आधिकारिक तालिम केन्द्रको मान्यता प्रदान गरेको हो।
कात्तिक १९ देखि २४ गतेसम्म सञ्चालन भएको तालिममा ३५ जना नियमितसहित करिब ६० जनाको सहभागिता रहेको थियो। तालिम समापन समारोहमा सीईबीए हंगेरीले गोर्खा गार्डलाई आधिकारिक तालिम केन्द्रको प्रमाणपत्र प्रदान गर्नुका साथै सहभागी प्रशिक्षार्थीलाई समेत सहभागिताको प्रमाणपत्र वितरण गरेको थियो। यस मान्यतासँगै अब सल्युट गोर्खा ट्रेनिङ सेन्टरले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल तथा छिमेकी देशमा सुरक्षा र अङ्गरक्षकसम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गर्न पाउने भएको छ। यसले सुरक्षा क्षेत्रमा रुचि राख्ने नेपाली युवालाई स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको सीप सिक्ने र त्यसलाई रोजगारीसँग जोड्ने नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
समापन समारोहका प्रमुख अतिथि सीईबीएका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसीले पाँचदिने प्रशिक्षणबाट सहभागीको सुरक्षा सीप, कार्यशैली र आत्मविश्वासमा उल्लेखनीय सुधार आएको बताए। नेपाल र हंगेरीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपाली युवाका लागि अन्तर्राष्ट्रिय अवसरको ढोका खोल्न यस्ता तालिम प्रभावकारी हुने उनको भनाइ थियो।
सल्युट गोर्खा ट्रेनिङ सेन्टरका संस्थापक राहुल पाण्डेले युरोपेली सुरक्षा अभ्यास, प्रविधि र व्यावसायिक सीप नेपाली युवामाझ पुर्याएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सुरक्षा गार्ड तथा नेपाली सेना र अन्य सुरक्षा निकायमा आबद्ध हुन तयारी गरिरहेका युवालाई समेत लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको उनले जानकारी दिए। आगामी दिनमा अझ उच्चस्तरीय अन्तर्राष्ट्रिय तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले सुनाए।
गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत हिमाल सुवेदीले नेपाली सुरक्षा सेवामा व्यावसायिकता, दक्षता र आधुनिक प्रविधिको प्रयोग बढाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए। नेपाली युवालाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्ने लक्ष्यसहित तालिम सञ्चालन गरिएको उनको भनाइ थियो। कम्पनीले बैंक, विद्यालय, सपिङ मललगायत विभिन्न क्षेत्रमा सुरक्षा सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए।
कम्पनीका निर्देशक इन्जिनियर सागर गौतमले अन्तर्राष्ट्रिय अनुभव र सीपलाई नेपाली सुरक्षा क्षेत्रमा भित्र्याएर सुरक्षा सेवालाई थप प्रभावकारी, विश्वसनीय र व्यावसायिक बनाउने लक्ष्य रहेको बताए। तालिमका सहभागी मानबहादुर थापाले प्रशिक्षणबाट आत्मरक्षा, व्यक्ति तथा सवारीसाधनको सुरक्षा जाँच, विशिष्ट व्यक्तिको सुरक्षा र मेला–महोत्सवमा भीड व्यवस्थापनलगायत विषयमा व्यावहारिक ज्ञान हासिल भएको बताए। सैद्धान्तिक ज्ञानसँगै अभ्यासमा आधारित प्रशिक्षण भएकाले तालिम निकै उपयोगी र उपलब्धिमूलक बनेको उनको प्रतिक्रिया थियो।
तालिममा सीईबीए हंगेरीका निर्देशक तथा प्रशिक्षक जोल्ट केरेस्तेसी, प्रशिक्षक यानोस लाउब, डाकोटा सेक्युरिटी रोमानियाका निर्देशक तथा प्रशिक्षक रोबर्ट आन्द्रास र बेलायती सेनाका पूर्वअधिकारी माइकल न्युटनले प्रशिक्षण दिएका थिए। पाँच दिनसम्म चलेको प्रशिक्षणमा आत्मरक्षा, व्यावसायिक सुरक्षा, अङ्गरक्षकको जिम्मेवारी र सीप, व्यक्ति तथा सवारीसाधनको जाँच, भीड व्यवस्थापन र सम्भावित जोखिम पहिचान तथा नियन्त्रणलगायत विषयमा अभ्याससहित प्रशिक्षण दिइएको थियो।
सीईबीएका अध्यक्ष जोल्ट केरेस्तेसीद्वारा हस्ताक्षरित प्रमाणपत्रअनुसार गोर्खा गार्डले एकेडेमीको शैक्षिक तथा योग्यता विभागको सुपरिवेक्षण र गुणस्तर नियन्त्रणमा रहेर नेपाल तथा छिमेकी देशमा विशिष्ट व्यक्तिको सुरक्षा अधिकारी, अङ्गरक्षक र सुरक्षा विशेषज्ञसम्बन्धी तालिम सञ्चालन गर्न पाउनेछ। प्रमाणपत्रमा गोर्खा गार्डका निर्देशक हिमाल सुवेदीलाई सीईबीएको प्रशिक्षक तथा नेपालका लागि सम्पर्क अधिकारीसमेत नियुक्त गरिएको उल्लेख छ।
आयोजकका अनुसार यस सहकार्यले नेपाली सुरक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण विस्तार गर्नुका साथै बेलायत, सिंगापुरलगायत देशमा सुरक्षा सेवासम्बन्धी रोजगारीका लागि आवश्यक सीप र दक्षता विकास गर्न सहयोग पुग्नेछ। विदेशमा मात्र नभई स्वदेशमै व्यावसायिक सुरक्षा सेवामा आबद्ध हुन चाहने युवाका लागि पनि सल्युट गोर्खा ट्रेनिङ सेन्टरले तालिम र रोजगारीबीचको सम्बन्ध स्थापित गर्ने लक्ष्य लिएको छ।





