भुटानी राष्ट्रिय क्रिकेट टोली गण्डकीसंग ८ विकेटले पराजित

-


     पोखरा क्लिक     
     असाेज १३ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, १३ असोज,

विश्व पर्यटन दिवसको सन्र्दभमा पोखरा आज देखि सुरु भएको अभ्यास खेलमा घरेलु टिम गण्डकी प्रदेश क्रिकेट टोलीले पाहुना टोली भुटानको राष्ट्रिय पुरुष क्रिकेटको समुहलाई पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आज (मंगलबार) भएको खेलमा गण्डकीले ८ विकेटले जित हासिल गरेको हो । भुटानले दिएको ९७ रनको सामान्य लक्ष्य गण्डकीले ११ ओभरमै २ विकेट गुमाएर लक्ष्य सहज पूरा गर्दै प्रभावशाली जित हासिल गरेको हो ।गण्डकीको जितमा ईश्वर क्षेत्रीले अविजित ३४ रनको योगदान दिए । यसअघि टस जितेर गण्डकीले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । गण्डकीका बलरसामु टिक्न नसकेको भुटान १९.३ ओभरमा ९६ रनमै समेटिएको थियो। भुटानका लागि सोनाम चोपेल र रन्जुङ मिक्यो दोर्जीले समान २७ रनको योगदान दिनुभयो । गण्डकीका लागि सुभाष भण्डारीले ४, अपराजित पौडेलले ३ विकेट दिनुभयो । ९७ रनको लक्ष्य पछ्याएको गण्डकीले भने सुरुदेखि नै आक्रामक शैलीमा ब्याटिङ ग¥यो । ११ ओभरमै लक्ष्य पूरा गर्दै घरेलु टोलीले भ्रमणकारी भुटानी टोलीविरुद्ध पहिलो खेलमा सहज जित हात पार्न सफल भएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोली अभ्यास तथा मैत्रीपूर्ण खेलका लागि पोखरा आएको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देले बताउनु भयो । आगामी आईसीसी मेन्स टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’को तयारीका लागि भुटानी टोलीले पोखरालाई अभ्यास गन्तव्यका रूपमा रोजेको हो । उक्त खेलको गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देले अम्पायर भोजराज बराल र अर्जुन उपााध्यायलाई बल ब्याट हस्तान्तातरण गर्दै गर्नु भएको । मलेसियामा आगामी अक्टोबर ३ देखि सुरु हुने प्रतियोगिताको तयारी स्वरूप भुटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने कार्यक्रम छ । नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा हुने खेलमध्ये पहिलो खेल मंगलबार गण्डकी प्रदेशसँग सम्पन्न भएको हो । तालिकाअनुसार भुटानले असोज १४ गते पनि गण्डकी प्रदेशसँग अर्को अभ्यास खेल खेल्नेछ । त्यसपछि असोज १५ र १६ गते भने क्यान–११सँग दुई अभ्यास खेल खेल्ने कार्यक्रम छ ।