टान गण्डकीको आयोजनामा ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

-


     पोखरा क्लिक     
     असाेज ३ गते २०८१ मा प्रकाशित


पोखरा, असोज ३,

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले युएसएडको सहयोगमा विहीबार ‘दीगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण’ सम्बन्धी एक दिने सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा पर्यटन पदयात्रामा जाने गाईड तथा पोर्टरहरुलाई दीगो पर्यटनका लागि पदयात्रामा जाँदा गर्नुपर्ने अभ्यास, जानेर होस् वा नजानेर त्यहाँ पुग्ने पर्यटक वा पदयात्रीले वातावरणमा पु¥याईरहेको हानी, नोक्सानीलाई कसरी रोकथाम र नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सचेतमूलक जानकारी दिइएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पर्यटन क्षेत्रमा चुनौति र सम्भावना दुबै रहेको बताए । चुनौतिका बाबजुद गण्डकीमा पर्यटनको अथाह सम्भावना छ,उनले भने,‘जसले चुनौति मोल्छ उसले सफलतापनि पाउँछ ।’ उनले कोभिडका कारण अहिलेपनि पर्यटन क्षेत्र माथि उठ्न नसेकेको र अहिले फेरी मन्दीले गर्दा थला परेको बताए । यहि बेला पदमार्गमा पर्ने स्थानिय तहहरुले कर उठाउन थालेकोप्रति असन्तुष्टि जनाए । पर्यटन क्षेत्रलाई अहिले कर लिने बेला नभएको बताउँदै उनले भने,‘पर्यटन क्षेत्र पुरानै लयमा नफर्की कर लिनुहुँदैन । तोकिएको छ भनेपनि खारेज गर्नुपर्छ ।’

टानका केन्द्रीय महासचिव सोनम ग्याल्जेन शेर्पाले पदमार्ग मासिदै जाँदा यो व्यवसाय जोखिममा परेको बताए । उनले पदमार्ग संरक्षणका लागि राज्यले नै ध्यान दिन जरुरी रहेको औंल्याए । टान केन्द्रका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईले पथ प्रदर्शकले आफूसँग गएका पर्यटकलाई जैविक विविधता संरक्षणका लागि आग्रह गर्ने र नटेरे सम्बन्धित ठाउँमा जानकारी गराउन भूमिका खेल्नसक्ने भएकाले सचेतना कार्यक्रम राखिएको बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पथप्रदर्शकलाई दक्ष बनाएर पर्यटकको मनपनि जित्ने र पदमार्गमा रहेका जैविक विविधता संरक्षणका लागि भूमिकापनि खेल्ने वातावरण निर्माणका लागि कार्यक्रम गरिएको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तर गरिरहने उल्लेख गरे । उनले पदमार्ग र जैविक विविधता जति मासिएपनि अब मासिन दिन नहुने भन्दै भने,‘अब बिग्रिन नदिन योजना बनाऔं । कार्यान्वयनका लागि के गर्नुपर्ने हो त्यसका लागि हामी तयार छौं ।’

पोखरा–६ लेकसाईडस्थित बरपिपल रिसोर्टमा आयोजित कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका बरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा पर्यटन परिषदका बरिष्ठ उपाध्यक्ष हरि भुजेल, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल, टान गण्डकीका पूर्व अध्यक्ष टीकाराम सापकोटा, टान गण्डकीका उपाध्यक्ष तीर्थराज सुवेदी, सहभागीको तर्फबाट कमल कार्कीलगायतले पदमार्ग संरक्षणसँगै यसको विकास, बिस्तार र प्रवद्र्धनका लागि योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए ।