बाह्रखरी गल्फको उपाधि कार्कीलाई

-


     पोखरा क्लिक     
     चैत्र ३ गते २०८० मा प्रकाशित


शनिबार पोखराको हिमालयन गल्फ कोर्षमा सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ प्रतियोगिताको सातौँ संस्करणको उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका कार्कीले सुनको बल उपहार समेत प्राप्त गरे ।

विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कार वितरण गर्नु भएको हो । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनकुमार कार्कीले ३९ अंक जोडेका थिए । आठ ह्यान्डीक्यापमा खेलेका कार्कीले फ्रन्ट नाइनमा २२ अंक जोडेका थिए भने ब्याक नाइनमा १७ अंक जोडे । यससँगै चार ह्यान्डीक्याप खेल्ने रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश गुरुङ र टासी छिरिङले समान अंक जोडेका थिए । तर ब्याक नाइनमा रमेशले १६ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । टासीले ब्याक नाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डीको उपाधि जितेका छन् । शेर्पाले पाँच बर्डी प्रहार गरेका थिए ।

पुरुषतर्फ लिलाजंग गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङले ३७ अंक जोडेका थिए । पुरुषतर्फको उपविजेतामा दुई खेलाडीबिच अंक बराबर भएको थियो । तर, काउन्ट ब्याकमा १९ अंक जोड्दै गुरुङले दोस्रो स्थान हासिल गरे । गुरुङसँग अंक बराबर गरेका आयुश मानन्धरले काउन्ट ब्याकमा १७ अंक जोडे ।

प्रतियोगितामा बलराम थापाले सिनियर ९६० वर्षमाथि० तर्फको उपाधि जिते । उनले ३६ अंक जोडेर सिनियरतर्फको शीर्ष स्थान हासिल गरे । महिलातर्फको उपाधि सुस्मा सिंहले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । उपविजेता बनेकी बालकासी गुरुङले ३० अंक जोडिन् । क्लोजेस्ट टू द पिनको उपाधि संगम केसीले जिते । चौथो होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘बीवाईडी’ को ‘अट्टो थ्री’ गाडी जित्न दुई यार्डले चुकेका थिए । लङ्गेस्ट ड्राइभको उपाधि बानचेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरेका थिए ।

यस कर्पोरेट गल्फ प्रतियोगिता १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा भए पनि एक होल केही बिग्रिएकाले दुई होल दोहोर्‍याएर खेलिएको गल्फ कोर्षका भुवनसिंह गुरुङले बताए ।