दीननाथ बराल
पोखरा ६, माघ,
एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई राखेपका सदस्य सचिब टंकलाल घिसिङले भेटघाट गर्दै उत्कृष्ट खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको छ । मलेसियामा आगामी फेब्रुअरी १० बाट हुने एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा सहभागि हुने नेपाली टोली पोखराम बन्द प्रशिक्षणमा रहेको टोलीलाई शनिबार मैदानमै पुग्नु भएको सदस्य सचिव घिसिङले क्रिकेटमा राम्रो नतिजा आएकोले यसमा धेरेको अपेक्षा भएकोले अझ राम्रो खेल प्रर्दशन गर्न आग्रह गर्नु भएको हो ।
क्रिकेटमा जति प्रशंसा भएको छ उत्तिकै चुनौती रहेकोले त्यसको सामना गर्न सक्नुपर्ने उहाँको भनाई थियो । नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा पाएको सफलताले नेपाली खेलकुदको उचाई थपिएको सदस्य सचिव घिसिङले दाबी गर्नु भयो । छोटो समयमै नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले हामी सबैको मन जित्न सफल भएको उहाँको भनाई छ । टिम व्यबस्थापकलाई उहाँले आवश्यक पर्ने आधारभूत बिषयमा कुनै कन्जुस्याई नगर्न आग्रह गर्दै खेलाडीलाई हौसला प्रदान गर्नु भएको थियो।
पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा टोलीले करिब तीन साता प्रशिक्षण गर्ने भएको प्रादेशकी क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देले बताउनु भयो । टिम प्रशिक्षक मनोज कटुवालले उक्त टिमबाट १८ सदस्यिय टोलीको घोषणा समेत गरिने बताउनु भयो ।
एसीसी वुमन्स प्रिमियर कप टी २० फर्म्याटमा आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स सहभागि हुनेछन् । फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा हुने महिला टि २० एसिया कप खेल्न पाउनेछन् ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीमा बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, सबनम राई, संगिता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, एसोदा विष्ट, खुशी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी रहेका छन् ।