
दीननाथ बराल,
पोखरा, ३१ भदौ,
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई सञ्चालनमा ल्याउन सहयोग जुट्न थालेको छ । सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर र जिल्ला ट्राफिक कार्यालय कास्कीलाई विभिन्न कार्यालय सामग्री हस्तान्तरण गरेको हो ।

संघले वडा प्रहरी कार्यालय बगरलाई दराज र फाइल र्याक, जिल्ला प्रहरी कार्यालय कास्कीलाई कुर्सी, टेवल र प्रिन्टर तथा जिल्ला ट्राफिक कार्यालय कास्कीलाई टेवल र कुर्सी एक÷एक थान सहयोग स्वरूप बुझाएको छ । जेनजी आन्दोलनमा सरकारी संरचना जलेर नष्ट भएपछि समाज पुनः निर्माणका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत सानो सहयोगको सुरुवात गरिएको संघका अध्यक्ष भरत बि.क.ले पोखराक्लिकलाई बताउनु भयो । उहाँका भनाइअनुसार संघले आगामी दिनमा थप सहयोग गर्ने तयारी समेत गरेको छ ।
प्रहरी कार्यालयहरूमा रहेका सामग्रीहरू जलेर नष्ट भएपछि सञ्चालन र व्यवस्थापनमा कठिनाइ भएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलीयाले गुनासो गर्नुभयो । सरसफाइ पूरा गरी कार्यालय सञ्चालन थालेपछि यस्ता सहयोगहरूले प्रहरीलाई उच्च मनोबलका साथ जनताको शान्ति सुरक्षामा खटिन प्रेरणा मिलेको उहाँको भनाई छ ।
यसैबीच, ‘हामी बनाउँछौँ हाम्रो देश’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीले पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा नौवटा नयाँ सिसिटिभी क्यामेरा जडान गरेको छ । संयोजक स्वयम्भु कुँवरका अनुसार, कार्यालयमा सामान्य मर्मतसँगै सातवटा पुराना क्यामेरासमेत मर्मत गरी सञ्चालनमा ल्याइएको छ । प्रहरीका अनुसार, जेनजी आन्दोलनका क्रममा जलेर क्षति पुगेको कार्यालयमा सिसिटिभी जडान भएपछि शान्ति सुरक्षाको निगरानी कार्यमा थप सहज हुने अपेक्षा गरिएको छ ।





