पोखरामा प्रथम किड्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता मंसिर १ गतेदेखि हुने

-


     पोखरा क्लिक     
     असाेज ५ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ५ ,असोज,

युनाइटेड किड्स क्लब, पोखराको आयोजनामा पोखरामा प्रथम किड्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १ गतेदेखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने आयोजकले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

प्रतियोगितामा ३ विभागिय नेपाल पुलिस, नेपाली सेना, शसस्त्र प्रहरी वल, घरेलु टिम गण्डकी भलिवल संघ सहित ६ टिमको सहभागिता हुने भएको क्लवका अध्यक्ष अशोक गुरुङले बताउनु भयो । प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेतालाई २ लाख ५० हजार, तृतीय हुने टोलीलाई १ लाख र सान्त्वना हुने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनु भयो । त्यस्तै, प्रतियोगितामा सर्वोउत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने उहाँले जनाउन्ु भयो । प्रतियोगिता सञ्चालनका लागि करिब ६० लाख ९५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट मुख्य प्रायोजक, प्रायोजक तथा सह–प्रायोजक, सरकारी निकाय, टिकट बिक्री, विशेष सहयोगी तथा सञ्चार माध्यम लगायत विभिन्न स्रोतबाट ७१ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ ।

भलिबल खेलको विकास, विस्तार तथा खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा देशका उत्कृष्ट आमन्त्रित पुरुष भलिबल टोलीहरूको सहभागिता रहने प्रतियोगिताका संयोजक थमन गुरुङले बताउनु भयो । प्रतियोगितामार्फत स्थानीय तथा युवा खेलाडीले राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने आयोजकको विश्वास छ । उक्त अवसरमा कास्की जिल्ला भलिबल संघका अध्यक्ष बुद्ध सिंहलाई सम्मान गरिएको छ । उहाँको कार्यकाल सफलताको कामना गर्दै सम्मान गरिएको क्लबका सचिव अशोक थापाले बताउनुभयो । त्यस्तै, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले राष्ट्रिय खेलका रूपमा रहेको भलिबलको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यस वर्ष पुरुषतर्फ मात्र प्रतियोगिता आयोजना गरिए पनि आगामी वर्षदेखि महिला खेलाडीलाई समेत समेटेर प्रतियोगिता सञ्चालन गर्ने तयारी रहेको प्रतियोगिता संयोजक थमन गुरुङले बताउनुभयो । युनाइटेड किड्स क्लबले खेलकुदसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाउँदै आगामी दिनमा नेपाली भलिबलको विकास र खेलाडीको प्रोत्साहनमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।